सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

वडाको आइसोलेसनमा सिसी क्यामेरा, के भन्छन् वडाध्यक्ष बेहना ? (भिडियो)

बाँके । कोरोना भाइरसको संक्रमण दर बढिरहेका बेला नेपालगन्ज उपमहानगरपालिका–४ मा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । विश्वलाई त्रासमा राखेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि अक्सिजनसहितको आइसोलेसन बेड स्थापना गरिएको वडाध्यक्ष मोहम्मद सफिक बेहनाले बताएका छन् ।

वडा नं ४ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा सिसी क्यामेरासमेत जडान गरिएको छ । आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले आइसोलेशन वार्डको निरिक्षण गरेका थिए ।

उक्त आइसोलेसन वार्ड नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को सहरी स्वास्थ्य केन्द्रको योगा भवनमा स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरका अन्य वडाले आफ्ना वडामा रहेका संक्रमितहरुका लागि केहि नगर्न नसकिरहेको अवस्थामा वडा नं ४ ले आफ्नो वडाका संक्रमितका लागि औषधि वितरणदेखि लिएर आइसोलेशन वार्डको निर्माण गरेको हो ।

वडाध्यक्ष बेहनाले भने, ‘अस्पतालमा बेडको अभाव भइरहेको बेला वडामा अक्सिजनसहितको आइसोलेसन निर्माण गरेपछि अक्सिजनको अभावमा कसैलाई अकालमा ज्यान गुमाउनुपर्ने छैन ।’ डाक्टरको निगरानीमा सञ्चालन हुने आइसोलेसनका लागि आवश्यक जनशक्ति पूर्ति गर्ने काम भइरहेकोले २० गते बिधिवत रुपमा उद्घाटन गर्ने वडाध्यक्ष बेहनाले बताए ।

नौ लाख लागतमा निर्माण गरिएको आइसोलेसन सेन्टरको सिसिटिभी क्यामेरामार्फत कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न र परिवारले सोही क्यामरामार्फत आफ्नो बिरामीलाई भेट्न पाउने छन् । जटिल प्रकारका बिरामीहरुलाई अस्पतालमा पठाउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिने वडाध्यक्ष बेहनाले बताए ।

https://www.facebook.com/televisionmega/videos/307254070795329

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार २१:१७