सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको प्रभावमा जनगणना

काठमाडौं । मुलुक संघीयतामा गएपछि पहिलो पटक जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदै छ।

तर, कोरोना भाइरस महामारीको दोस्रो लहरले छोपेको यो कठिन परिस्थितिमा जनगणना कसरी हुन्छ रु ‘कठिन अवस्था छ।

घर व्यवहारदेखि राज्यको अवस्था पनि गम्भीर छ’, केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने भन्छन्, ‘हाललाई गर्न सकिन्छ नै भनेर काम गरिरहेका छौं।’

निर्देशक लामिछानेका अनुसार सरकारले जनगणना नरोक्ने भनिरहेको छ। गृह मन्त्रालयले सूचना जारी गरेरै जनगणनाका लागि हुने कुनै पनि गतिवधि निषेधाज्ञाका कारण नरोकिने जनाएको छ।

‘छलफल चलिरहेको छ। अझै केही भन्ने अवस्था छैन। हाम्रो काम भने रोकिएको छैन’, लामिछाने भन्छन्। ५० हजार गणकलाई बिहीबारदेखि तालिम दिनुपर्ने कार्यतालिका छ।

तर, बिहीबार नै काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै छ। निर्देशक लामिछाने गणकलाई विभिन्न समूहमा तालिम दिने तयारी रहेको बताउँछन्।

तालिमका लागि आवश्यक व्यवस्था मिलाइने गृह मन्त्रालयको सूचनामा उल्लेख छ। मन्त्रालयका प्रवक्ता जनकराज दाहाल जनगणना राष्ट्रिय कार्यक्रम भएकाले तालिम सञ्चालन गर्न मन्त्रालयले सहजीकरण गरिदिएको बताउँछन्।

निर्देशक लामिछाने गत वर्षको पाइलट जनगणनाको कोभिडकै बीचमा गरिएको सुनाउँछन्। जनस्वास्थ्यका मापदण्ड अपनाएर जनगणना भने गर्न सकिने लामिछानेको भनाइ छ।

‘पोहोर पनि सुरुवातमा पाइलट जनगणना पनि बिथोलिएको थियो। तर, असारमा कोभिडकै बीचमा सम्पन्न गरेका थियौं’, उनी भन्छन्, ‘फिल्डमा समस्या छैन। जान सक्ने वातावरण भयो भने जनगणना हुन्छ। सबै जना घरमा हुने भएकाले झन् तथ्यांक लिन सजिलो हुन्छ।’

उनीे अवस्थाको जटिलता र व्यावहारिक पक्षलाई हेरेर भोलि के होला भन्न सकिहाल्ने अवस्था नरहेको बताउँछन्। ‘अहिलेसम्म गर्न भनेर लागेका छौं। तर, भन्न सकिन्नँ’, उनी भन्छन्, ‘व्यावहारिक रूपमा भोलि के होला ?’

अन्नपूर्ण

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ०७:५१