काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पीसीआर गर्नुपर्ने भन्दैस्थगित गरिएको थियो ।
एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको कांग्रेसले जनाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
१४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।
जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको भनाइ छ । कांग्रेसले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो ।
।