सूचनाको शक्ति - The Power Of Information

        

गर्भवती बन्दै अविवाहित किशोरी

बझाङ । अघिल्लो महिनाको अन्तिम साता एक किशोरी पेट दुख्ने समस्या लिएर जिल्ला अस्पतालमा पुग्नुभयो । उनको स्वास्थ्य परीक्षण गर्दा चार महिनाको गर्भ भएको देखियो । स्वास्थ्यकर्मीले तपाईंको श्रीमान् कता हुनुहुन्छ भन्दा उनले आफ्नो विवाह नभएको बताएपछि स्वास्थ्यकर्मी अचम्ममा परे ।

स्वास्थ्यकर्मीले पेटमा बच्चा छ भनेर जानकारी दिँदा ती किशोरी केहीबेर अलमलमा परिन् । लामो समयसम्म स्वास्थ्यकर्मीसँग हुनै सक्दैन भनेर जिद्धी गर्न थालेपछि भिडियो एक्स–रे गरेर देखाइयो । त्यसपछि मात्र उनले छिमेकी गाउँको केटासँग यौन सम्पर्क भएका कारण गर्भ रहेको स्वीकार गरिन् ।

यस्तै चैत महिनाको पहिलो हप्ता १६ वर्षीया एक किशोरी पेट दुख्यो र ग्यास्ट्रिक भयो भन्दै सदरमुकाम चैनपुरको एक निजी मेडिकलमा पुगिन् । उनले मेडिकलबाट पेट फुलेको र आफूलाई ग्यास्ट्रिक भएको भनेपछि मेडिकल सञ्चालकले ग्यााष्ट्रिकको औषधि दिएर पठाए । मेडिकल सञ्चालकले जिल्ला अस्पतालमा जान भनेपछि उनी जिल्ला अस्पताल पुगिन् ।

जिल्ला अस्पतालमा स्वस्थ्यकर्मीले भिडियो एक्स–रे गरेर पेटमा बच्चा खेल्न लागेको देखाएपछि सात महिनाको गर्भपतन गराइदिन डाक्टरसँग अनुनय विनय गर्न थालिन् । डाक्टरले सम्झाइबुझाई गरेर घर पठाइदिए । यस्तै चैत महिनाको अन्तिमतिर १८ वर्षीया एक अविवाहित किशोरी जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा पुगिन् ।

उनीमा रक्तस्राव भइरहेको थियो । परीक्षण गर्दा निजी मेडिकलबाट गर्भपतन गराउने औषधि खाएर पेटमा रहेको चार महिनाको बच्चा फालेको पत्ता लाग्यो । किशोरीले असुरक्षित गर्भपतन गराएकै कारण रक्तस्राव भएको थियो । स्वास्थ्य कार्यालयमा पुगेपछि स्वास्थ्यकर्मीले मेसिनबाट सफा गरेर उनको ज्यान सुरक्षित राख्न सफल भएका थिए ।

यस्ता थुप्रै समस्या दैनिक पाँच–छवटा आइरहेका हुन्छन् । उसो त त्योभन्दा डरलाग्दो रूप समय नपुग्दै गर्भपतन गराउनेको दरले देखाएको छ । दैनिक रूपमा अविवाहित वा विवाह गरेका किशोरीका पनि पाँच–छवटा यस्ता घटना जिल्ला अस्पतालमा पुग्ने गरेका यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ ।

सुरक्षित यौन सम्पर्कका बारेमा राम्रो ज्ञान नहुनु, निजी मेडिकलमा सहज रूपमा गर्भपतन गराउने औषधि पाइनुलगायत विभिन्न कारणले यो दर बढेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । जिल्ला अस्पतालमा कार्यरत अनमी सुनीता उपाध्यायका अनुसार गर्भपतन गराउने दर निकै उच्च रहेको छ ।

त्योभन्दा पनि बाहिर निजी मेडिकल तथा औषधि पसलमा गर्भपतन गराउने औषधि खाएर आउनेको दर झन् भयानक बन्दै गएको बताइन् । कतिपय महिला त अन्तिम सास मात्रै लिएर जिल्ला अस्पतालसम्म पुग्ने गरेको उनको भनाइ छ । यस्तै जिल्लाको एक निजी मेडिकल सञ्चालक अशोक मल्लले गर्भपतन गराउने औषधि खोज्न अधिकांश किशोर तथा केही मात्रामा किशोरी तथा विवाहित महिला आफ्नो मेडिकलमा आउने गरेको बताए ।

आफूलाई त्यो औषधि बिक्री गर्ने अधिकार नभएको र औषधि खोज्नेलाई अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सुझाव दिने गरेको मल्लको भनाइ छ । जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डा.मिलन खड्काले यस्तो समस्या पछिल्लो समय बढ्दै गएको बताउँदै किशोर किशोरीलाई यौन शिक्षासम्बन्धी ज्ञानको खाँचो रहेको बताए ।

उनले भने, ‘असुरक्षित गर्भपतन गराएर आउँछन् । उनीहरूको ज्यान बचाउनु नै ठूलो धर्म ठान्दै सेवा दिइरहेका छौँ ।’ यस्तो समस्या लिएर अन्तिममा मात्रै अस्पतालमा पुग्ने गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डा.खड्काको भनाइ छ । कानुनले १२ सातासम्मको मात्रै गर्भपतन गराउन स्वीकृति दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ०८:२२