सूचनाको शक्ति - The Power Of Information

        

विकास र समृद्धि

सडक सञ्जालले जेलिँदै ‘नरैनापुर’का बस्ती

बाँके । त्यसो त नरैनापुरमा यो वा त्यो विषय पहिलो प्राथमिकतामा छ भन्ने नै छैन । नरैनापुर शदीयौँदेखि विकासको भोको छ । यहाँ राज्यको सबै संयन्त्र भएर पनि राज्यबाट टाढा रहनुपर्ने अवस्था छ । मधेसी र मुस्लिम बाहुल्य क्षेत्र भएकोले राज्यबाट हेपाहा दृष्टिले हेर्ने गरिन्छ । जसका कारण बजेट विनियोजन गर्दा पनि विभेद गरिन्छ । जनप्रतिनिधि आउनुअघि नरैनापुरमा एक मिटर पनि पक्की सडक थिएन । नेपालगन्ज आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सधैं दुर्गम र बिकटको संज्ञा पाइरहने बाँकेको नरैनापुर गाउँपालिका सडक सञ्जालले घेरिँदैछ । सडक सञ्जालले घेरिएसँगै नरैनापुरले सुगमको आफुनो परिचय बदलेको छ । गाउँगाउँमा सडक सुविधा पुगेको छ । अस्पताल बनेको छ । चिकित्सक बस्न थालेका छन् । सरकारी कार्यालयले गाउँमै सेवा दिइरहेका छन् । टेलिफोन र नेटवर्क पनि गतिलै छ । नरैनापुर फेरिएको छ । बघौडा क्षेत्र फेरिएको छ । स्थानीय तहको निर्वाचनपछि नरैनापुरको मुहार फेरिएको छ । अहिले नरैनापुर गाउँपालिकामा नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नती भइरहेको छ ।

जनप्रतिनिधिको सक्रियता र मेहेनत तथा प्रयासले केन्द्र, प्रदेश र र स्थानीय तहको सहकार्यमा नरैनापुरका गाउँ बस्तीहरु सडक सञ्जालले घेरिएका छन् । जिल्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासका दृष्टिले पछि परेको नरैनापुर गाउँपालिका हो । बाँकेका अन्य गाउँपालिकाभन्दा विकासमा घेरै अघिदेखि पछाडि परेको गाउँपालिका हो, नरैनापुर । विगतदेखि नै नरैनापुरले ‘विकट’को उपमा पाइरहेको थियो । बाटोघाटो, बिजुली बत्ती, वित्तीय सेवा लगायतको सेवासुविधा पर्याप्त नहुँदा नरैनापुर गाउँपालिका विकट मानिएको हो । तर, अहिले विस्तारै आफ्नो परिचय बदल्ने लयमा अघि बढिरहेको छ, नरैनापुर गाउँपालिका ।

विकास भएको त्यो बेला देखिन्छ, जतिबेला गाउँठाउँका बाटाहरु पक्की बन्छन् । अहिले नयाँ बाटाहरु बन्नुका साथै सडक विस्तारलाई अभियानकै रुपमा अघि बढाइँदा सडक सञ्जालले सबै गाउँ टोल र बस्तीहरु जेलिँदै गएका छन् । एक वर्ष पहिलेमात्रै पनि नेपालगन्जबाट नरैनापुर जान गाडीमा चार घण्टासम्म लाग्ने गथ्र्यो । बाटोको अवस्था दयनीय हुँदा हिँड्डुल गर्न नै मुश्किल पर्ने नरैनापुरका सडक स्थानीय सरकार आएपछि सुधारिँदै गएका छन् । साना तथा ठूला सडकहरु बन्ने क्रममा छन् । केही सडकहरु पक्की बनेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरी स्तरोन्नती गरिएको छ ।

सडकलाई शुरुदेखि नै फराकिलो बनाउने सोचका साथ विकास निर्माणका कामहरु भइरहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । ‘गाउँपालिकामा धमाधम सडक बनिरहेका छन् । गाउँगाउँमा चार मिटरभन्दा बढी चौडाइका पक्की सडकहरु बन्न थालेपछि स्थानीय पनि खुशी छन्,’ अध्यक्ष शाहले भने । जनप्रतिनिधि आएपछि नरैनापुरको विकासमा तीव्रता आएको छ । गाउँगाउँमा फराकिला सडक बनेपछि नरैनापुरबासी दङ्ग छन् । स्थानीयबासीको सहयोगमा नरैनापुरमा सडक विस्तार तथा स्तरोन्नतीको काम गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष शाहले जनाए ।

गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले भनिन्, ‘शुरु शुरुमा घर भत्काएर सडक बनाउन आनाकानी गरेका स्थानीयवासीले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि गाउँपालिकालाई सडक बनाउन साथ दिनुभएको छ ।’ उनका अनुसार घर अगाडि गाडी नै गुड्ने पक्की सडक बनेपछि स्थानीयबासी अहिले खुशी भएका छन् । नरैनापुरका अधिकांश सडकहरु कृषि सडकका रुपमा विकास गरिएकाले र त्यसबाट किसानले उत्पादन गरेको अन्नबाली सहजै सदरमुकाम नेपालगन्जसम्म पुर्याउन सहज भएको छ । आर्थिक बर्ष २०७७/०७८ मा अहिले गाउँपालिकासम्म जाने सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

जनतालाई दिने सेवा सुविधामा कुनै कञ्जुस्याइँ गरिएको छैन । सडक सञ्जालका कारण नागरिकहरुलाई एक गाउँदेखि अर्को गाउँसम्म मात्रै होइन जिल्ला सदरमुकाम नेपालगन्जसम्म पुग्न पनि निकै सहज भएको छ । जनप्रतिनिधि आएको तीन वर्षको अवधिमा १५ किलोमिटर सडक पक्की बनेको छ । यो गाउँपालिकामा सडक पूर्वाधारको हिसाबले महत्वपूर्ण काम हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीका अनुसार नरैनापुरका गाउँबस्तीमा स्तरीय सडक बन्न थालेपछि गाउँपालिकामा औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने बहसहरु हुन थालेका छन् ।

औद्योगिक ग्राम बनाउने बहससँगै गाउँपालिकाको क्षेत्रभित्र पर्ने सबै सडकलाई स्तरोन्नती गर्नुपर्ने बाध्यता रहेकै कारण सडक निर्माणलाई प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की सडक बनाउने योजना अन्तरगत ६ वटै वडामा पक्की सडकहरु निर्माण भइरहेका छन् । गाउँपालिकाका जनप्रतिनिधिलाई निर्वाचनका बेला मत माग्न जाने क्रममा सडक नभएकाले ट्रयाक्टरमा बसेर गाउँगाउँसम्म जानुपर्ने बाध्यता थियो । मुख्य सडकमध्ये धेरै सडकहरु कालोपत्रे तथा पीसीसी भइसकेका छन् । गाउँगाउँमा ६/६ मिटरका सडकहरु बनिरहेका छन् ।

गाउँपालिका अध्यक्ष शाहले निर्वाचनका क्रममा भोगेका पीडा स्मरण गर्दै भने, ‘सडक स्तरीय थिएनन् । ट्रयाक्टरमा बसेर टाढाटाढाको गाउँसम्म प्रचारप्रसार गर्न जाँदा निकै दुःख झेल्नुपरेको थियो तर, अहिले नरैनापुरको अवस्था पहिलेको भन्दा निकै फेरिएको छ । सडकहरुको स्तरोन्नति गरिएपछि नरैनापुरका गाउँहरुमा आउजाउ गर्न समस्या छैन । सबै भित्री गाउँका सडकहरु गाडी सहजै जान मिल्ने गरी नालीसहितको बनाइरहेका छौं ।’ गाउँपालिकाभित्र नयाँ ट्रयाक खोलिएका सडकहरु ग्राभेल गर्ने, कच्ची सडकहरुलाई स्तरोन्नती गरेर ग्राभेल गर्ने र ग्राभेल भइसकेका सडकहरुलाई कालोपत्रे तथा पीपीसी गरेर पक्की बनाउने गाउँपालिकाको लक्ष्य छ ।

त्यस्तै नाला तथा स्ल्याव कल्भर्ट निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । कच्ची बाटो भएको ठाउँमा सडक चौडा गरी नालीसहितको पक्की बनाउने र सडक नै नभएको ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार भारतीय सडक भएर जानुपर्ने वडा नं २ रोशनपूर्वामा पनि गत वर्ष कच्ची सडक निर्माण गरिएको छ । यस बर्ष ग्राभेल बिछ्याएर सडक स्तरोन्नती गरिएको छ । नेपाली गाउँ भए पनि बाटो नहुँदा भारतीय भूमि भएर पुग्नुपर्ने रोशनपूर्वामा सडक निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयलाई सहज भएको छ ।

सडक सञ्जालले गाउँपालिकाका सबै वडा, गाउँ र बस्तीलाई नजोडेसम्म विकास सम्भव नहुने भएकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष शाहले बताए । नेपालगन्जदेखि नरैनापुरको कट्कुइँया जोड्ने ४४ किलोमिटर लामो हुलाकी सडक निर्माण पनि सकिएको छ । हुलाकी सडक बनेपछि नरैनापुरदेखि नेपालगन्जसम्मको सडक सम्पर्क सहज बनेको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडकहरु निर्माण भइसकेका छन् । यस वर्ष नयाँ ट्रयाक खोलेका सडकहरुलाई आगामी वर्ष सकेसम्म कालोपत्र गर्ने गाउँपालिकाको योजना छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले वडाका सबै बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य अनुसार काम गरिरहेको छ ।

स्थानीय सरकारले वडाका प्रत्येक बस्तीबस्तीमा सडक सञ्जालसँग जोडिएपछि नरैनापुरबासीलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ । ‘तीन बर्षको अवधिमा नरैनापुरले ‘विकट’को उपमा बदनेको छ,’ अध्यक्ष शाहले भने, ‘हामी नरैनापुरलाई विकट होइन निकट बनाउने अभियानमै छौं ।’ आफ्नै कार्यकालमा नरैनापुरलाई सुगमको सूचीमा पार्न सकेकोमा हामी हर्षित पनि भएका छौं ।’ पछिल्लो समय स्थानीय निकायकाले सबै वडाहरु सडक सञ्जालमा जोडिएपछि नरैनापुरबासीको जनजीवनसँगै दैनिकीसमेत फेरिएको छ । जनप्रतिनिधिकै सक्रियतामा नरैनापुरको हरेक क्षेत्रले काँचुली फेर्दै अघि बढेको छ । ‘हाम्रै कार्यकालमा नरैनापुरको काँचुली फेरिएको छ । शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा आत्मनिर्भरताको बाटोमा पनि अघि बढिरहेको अध्यक्ष शाह बताउँछन् । -समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ०७:४३