सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा गहिरिँदै कोरोना संकट

स्थानीय तहमा धमाधम बन्दै अक्सिजनसहितका आइसोलेसन सेन्टर

बाँके । कोरोना संक्रमणको संकट गहिरिन थालेपछि बाँकेका स्थानीय तहहरुमा धमाधम अक्सिजनसहितका आइसोलेसन सेन्टर बन्न थालेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँके जिल्लाका पालिका तहमा निर्माण गरिएको आइसोलेसनमा ८६ वटा अक्सिजनसहित ३५१ वटा बेड तयार पारिएको छ ।

जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमणका कारण बेड अभावले संक्रमितलाई उपचार गराउन हम्मेहम्मे भइरहेका बेला जिल्लाका ८ वटा पालिका तहमा अक्सिजनसहित बेडको आइसोलेसन निर्माण गरिएको हो । डिसिसिएमसीका अनुसार यसरी बाँकेको खजुरा गाउँपालिकामा सबैभन्दा बढि ३० वटा अक्सिजनसहित बेड रहेको आइसोलेसन निर्माण गरिएको छ ।

खजुरा गाउँपालिकाको राधापुर स्वास्थ्य चौकीमा १० र जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना भवनमा २० वटा अक्सिजनसहित बेडको आइसोलेसन निर्माण गरिएको हो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित होटल ह्वाइट हाउसमा १२० वटा साधरण बेड रहेको आइसोलेसन सञ्चालनमा रहेको छ ।

त्यसैगरी कोहलपुर नगरपालिका–२ स्थि कोभिड अस्पतालमा १० वटा अक्सिजनसहितको बेड र १५ वटा साधारण बेडसहितको २५ बेडको आइसोलेसन सञ्चालनमा रहेको छ । डिसिसिएमसीका अनुसार बैजनाथ गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनकटवामा ५ वटा अक्सिजन र १५ वटा गरि २० बेडको आइसोलेसन सञ्चालनमा रहेको छ ।

डुडुवा गाउँपालिका–२ स्थित बहुउद्देश्य हलमा १६ वटा अक्सिजनसहित बेड रहेको आइसोलेसन सञ्चालनमा रहेको छ भने राप्तीसोनारी गाउँपालिका–२ स्थित छात्रबास भवनमा ३ वटा अक्सिजन र १२ वटा साधारण बेड तथा वडा नं.६ सहिद पार्क भवनमा २ वटा अक्सिजन र ८ वटा साधारण बेडको को आइसोलेसन सञ्चालनमा रहेको छ ।

त्यस्तै राप्तीसोनारीकै वडा नं.३ स्थित सेल्टर हाउसमा ३ वटा अक्सिजन र १२ वटा साधारण बेड गरि जम्मा ४० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको छ । यता जानकी गाउँपालिकाको वडा नम्बर– ६, स्थित खुला कारागारमा ५ वटा अक्सिजन बेड र ४५ वटा साधारण बेड गरि ५० वटा बेड सञ्चालनमा रहेको छ ।

नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा २ वटा अक्सिजन र २३ वटा साधारण बेड तथा नेराप्रावि मोतिपुरमा १० वटा अक्सिजन र १५ वटा साधारण बेड गरि ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ०७:३३