सूचनाको शक्ति - The Power Of Information

        

अनेसास लुम्बिनीको अध्यक्षमा किरण, कल्पनालाई सचिवको जिम्मेवारी

बाँके । अन्तरराष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) नेपालको लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । बाँके नेपालगन्ज निवासी साहित्यकार किरण आचार्यको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मन गहिरे (पाल्पा), सचिवमा कल्पना खरेल (बाँके, नेपालगन्ज) र कोषाध्यक्षमा नमिता बराल (कोहलपुर) रहेका छन् ।

अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको प्रमुख आतिथ्य तथा अनेसास नेपालका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक दिव्य गिरीको सभापतित्वमा बसेको बैठकले प्रदेश समिति सदस्यमा सीता ढुँगाना काफ्ले (कपिलवस्तु), दुर्गा पौडेल (रुपन्देही) र नमराज सुवेदी मुन (दाङ) लाई चयन गरेको छ । समितिको सल्लाहकारमा बमबहादुर डिसी (दाङ) र कृश गुल्मेली बाबुलाई चयन गरिएको लुम्बिनी प्रदेश समितिका सचिव कल्पना खरेलले जानकारी दिइन् ।

भर्चुअल अर्थात जूममार्फत सम्पन्न बैठकमा अनेसास नेपालकी अध्यक्ष एवं कार्यक्रमको प्रमुख अतिथि सन्ध्या पहाडीले नेपाली भाषा साहित्यको उन्नयनका प्रदेश नं एक, दुई, बाग्मतीपछि लुम्बिनीमा प्रदेशस्तरीय समिति गठन गरिएको बताइन् । अनेसास नेपालका उपाध्यक्ष गिरीले सात वटै प्रदेशमा समिति गठन गरिने जानकारी दिँदै बाँकी रहेका प्रदेशमा पनि प्रदेश समिति गठन गर्ने तयारी रहेको बताइन् ।

अनेसास नेपालको साधारण सभामा अनुसन्धानात्मक लेख रचना समावेश गरेर पत्रिका प्रकाशन गर्ने योजना रहेको बताउँदै गिरीले त्यस प्रकारका लेख रचना अनेसास नेपाललाई उपलब्ध गराइदिन आह्वानसमेत गरिन् । उनले अनेसास नेपाल लुम्बिनी प्रदेशका नवनियुक्त पदाधिकारीलाई बधाई ज्ञापन गर्दै अनेसास नेपाल र प्रदेश समितिको सहकार्यमा साहित्यिक कार्यक्रमहरू गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् ।

उपाध्यक्ष गिरीले अनेसास प्रदेश समिति गठन गर्नुपूर्व प्रयाप्त छलफल गरेको र यसलाई भौतिक रुपमा उपस्थित भएर नै समिति गठन गर्ने योजना भए पनि देशभर एक्कासी आएको प्रतिकूल मौसम परिवर्तन र कोरोना भाइरसको तीब्र संक्रमणका कारण लुम्बिनी प्रदेश गठन गर्न भर्चुअल बैठकमार्फत बस्न बाध्य हुनुपरेको कुरा व्यक्त गरिन् ।

कार्यक्रम सञ्चालनका क्रममा अनेसास नेपालका महासचिव ऋषभदेव घिमिरेले अनेसास नेपालले सबै प्रदेशमा साहित्यिक गतिविधिलाई महत्वकासाथ सञ्चालन गर्ने र यसको निम्ति सबैको सहयोग आवश्यक पर्ने धारणा व्यक्त गर्दै आज यस कार्यक्रममा उपस्थित सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । साथै उनले प्रदेश समितिलाई आवश्यक पर्ने कार्य संचालन निर्देशिका पनि छिटै उपलब्ध गराउने बताए ।

अनेसास लुम्बिनी प्रदेशको नवनियुक्त अध्यक्ष किरण आचार्यले आफूमाथि आएको जिम्मेवारीलाई आफ्नो ज्ञान र अनुभवभि सक्दो निर्वाह गर्ने विश्वास दिलाउँदै नेपाली भाषा साहित्यको उन्नयनका लागि अहोरात्र खटिने बताइन् । अनेसास नेपालकी सदस्य डा.शान्ति माया गिरीले अर्चुअल कार्यक्रमको व्यवस्थापन गरेका थिइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ०९:४८