सूचनाको शक्ति - The Power Of Information

        

बाँके, बर्दिया सहित यी ९ जिल्लामा लगाइयो लकडाउन, उल्लंघन गरे १ महिना कैद

काठमाडौं । बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सीसीएमसीको आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या दुई सय नाघेका जिल्लामा सकभर लकडाउन र त्यो नभए निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय संक्रमित पुगेका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाउने निर्णय पनि गरेको छ । सबै विद्यालयहरू बन्द गर्ने र परीक्षाहरू स्थगित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

महामारीविरुद्ध उपत्यकामा निषेधाज्ञा लगाइएको यो दोस्रोपटक हो । यसअघि गत भदौ ३ देखि असोज १ सम्म निषेधाज्ञा जारी गरिएको थियो । दोस्रो लहरको संक्रमण रोक्न पछिल्लो निषेधाज्ञाले सहयोग पुग्ने तीनवटै जिल्लाका प्रशासन कार्यालयले जनाएका छन् ।

प्रशासनको आदेश कार्यान्वयनका लागि राजधानीमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा पनि महामारी फैलिन नदिन निषेधाज्ञा लगाउनेबारे छलफल चलिरहेको छ ।

भारतसँग सीमा जोडिएका र जोखिमको उच्च सूचीमा रहेका जिल्लामा पनि आवश्यकताअनुसार प्रतिकार्य योजना लागू गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

निषेधाज्ञा जारी हुनुअघि दिनभर उपत्यकाका तीनवटै प्रशासनको संयुक्त बैठक बसी साझा निर्णयको मस्यौदा तयार पारिएको थियो । संघीय राजधानी भएका कारण निषेधाज्ञाको निर्णयअघि मन्त्रालयसँग समन्वय र परामर्श गरिएको थियो ।

निषेधाज्ञा सोमबार जारी भए पनि राजधानीमा कर्मथलो बनाएकालाई स्थायी थातथलो फर्कन चाहेमा जान केही दिन समय उपलब्ध गराउने उद्देश्यले बिहीबारबाट मात्रै निषेधाज्ञा गरिएको हो ।

जारी निषेधाज्ञाअनुसार खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल/व्यवसायबाहेकका व्यवसायलाई बन्द गरिनेछ । खाद्य सामग्री किनबेचका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्न पाइनेछ ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्रै बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसका लागि सरकारले तोकेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ०८:३०