सूचनाको शक्ति - The Power Of Information

        

समाचार

खुम्चियो कर्णाली प्रदेशसभा, काँग्रेस निर्णायक, एमाले अल्पमतमा

कांग्रेस जतातिर लाग्यो, उसकै बहुमत पुग्ने अवस्था बनेको छ ।

सुर्खेत । कर्णाली प्रदेशसभामा एमालेका चार सांसद पदमुक्त भएसँगै एमाले अल्पमतमा गरेको छ । वैशाख ३ गते पार्टी संसदीय दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसद पदमुक्त भएको जानकारी सोमबारको प्रदेशसभा बैठकमा दिइयो ।

पदमुक्त हुनेमा सल्यान (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालीकोट (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा (क) बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख–१ (ख) बाट निर्वाचित अमरबहादुर थापा रहेका छन् । सभामुख राजबहादुर शाहीले राजनीतिक दलसम्बन्धी ऐन र कर्णाली प्रदेशसभा नियमावली अनुसार उनीहरु आबद्ध पार्टीको पत्रको आधारमा पदमुक्त भएको जानकारी गराएका थिए ।

नेकपा एमाले महाधिवेशन आयोजक समितिले शुक्रबार चारजना सांसदलाई सांसद र साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको थियो । सोसम्बन्धी पत्र आइतबार संसद् सचिवालयमा दर्ता भएको थियो । एमालेका ४ जना सांसद पदमुक्त भएसँगै कर्णालीको सत्ता समीकरणमा नेपाली कांग्रेस थप निर्णायक बन्न पुगेको छ । नेकपा माओवादी केन्द्र का सांसद धर्मराज रेग्मी पदमुक्त भएपछि ४० सदस्यीय कर्णाली प्रदेशसभा ३९ सदस्यमा झरेको थियो ।

अब कर्णाली प्रदेशसभा ३५ सदस्यमा सीमित भएको छ । प्रदेशसभामा एमालेका १६ सभामुखसहित, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका १ सांसद छन् । एमाले र माओवादी केन्द्र एक ठाउँ हुन नसकिरहेको अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेस जतातिर लाग्यो, उसकै बहुमत पुग्ने अवस्था बनेको छ ।

यसैबीच कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले दलीय आचरण र सस्कार मिच्नेलाई भन्दा पुरुस्कृत गर्नेलाई दण्ड हुने बताएका छन् । सोमबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्वाधन गर्दै नेता कँडेलले यस्तो बताएका हुन् ।

गत बैशाख ३ गते नेकपा एमाले माधव नेपाल पक्षकाका प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अमर बहादुर थापा, नन्दसिङ बुढा, र कुर्मराज शाहीले दलको निर्देशन विपरित फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्र महेन्द्र बहादुर शाही नेतृत्वको सरकालाई विश्वासको मत दिइएको तर्फ इङ्गित गर्दै नेता कँडेलले उनीहरुलाई भगौडाको आरोपसमेत लगाए ।

‘तीन बर्षको अबधिमा केही गर्न नसकेको कर्णाली प्रदेश सरकारले भगौडाको साथ लिएर उनीहरुलाई पुरुस्कृत गरी आफ्नो सत्ता बचाएको छ,’ नेता कँडेलले भने, ‘भगौडाहरुले सार्बजनिकरुपमा धेरै अर्ती उपदेश दिन थाले भने जनआक्रोश जुनसुकै ठाउँमा भट्किन सक्छ ।’ फ्लोर क्रस गरेका आफ्ना सांसदहरुप्रति आक्रोशित हुँदै नेता कँडेलले अहिले कोरोनाको कहर नआएको भए उनीहरुको मन्त्रालय अगाडि जनताहरुलाई उतार्नेसमेत चेतावनी दिएका थिए ।

‘भागेपछि मात्र थाहा हुने कुराले कर्णालीले कसरी विकास गर्छ ? परबाट आउने मान्छेले त्यो मन्त्रीलाई कसरी नमस्कार गर्ला ? कर्मचारीले कसरी उनिहरुलाई विश्वास गर्लान् ? भाग्ने र भगाउने काम अपराध हो,’ उनले भने । संसदीय दलका नेता कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटलाई मात्रै प्रथामिकता दिएको भन्दै कालिकोट कस्तो जिल्ला हो भनेर प्रश्नसमेत गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ०७:४७