बाँके । बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको यस क्षेत्रकै सबैभन्दा ठूलो अक्सिजन ग्यास उद्योग एचओ अक्सिजन इन्डष्ट्रिजले दैनिक ६०० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ । दैनिक एक हजार १०० सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता रहेको सो उद्योगले हाल दैनिक ६०० सिलिन्डर अक्सिजन ग्यास उत्पादन गरिरहेको उद्योगका सञ्चालक विक्रम शाहले बताए ।
उनले आफ्नो उद्योगले अझै पनि क्षमताअनुसार उत्पादन नगरिरहेको जनाउँदै तर विगत केही समययता अक्सिजनको माग अत्यधिक आएकाले अब विस्तारै मागअनुसार उत्पादन पनि बढाउँदै जाने बताए । अहिलेको अवस्थामा बाँकेलगायत यस क्षेत्रका विभिन्न जिल्लाका अस्पतालमा अक्सिजन आपूर्ति गर्दै आएको जनाउँदै सो उद्योगका सञ्चालक शाहले हालको माग र उत्पादन बराबरी नै रहेको बताए ।
उनले कुनै पनि हालतमा यस क्षेत्रमा अक्सिजनको अभाव हुन नदिने उद्देश्यका साथ आफूहरूले उत्पादन गरिरहेको बताए । यसरी नै दिनदिनै ठूलो सङ्ख्यामा माग बढ्दै जाने हो भने अक्सिजन सिलिन्डरको भने अभाव हुनसक्ने एचओ अक्सिजन इन्डष्ट्रिजले जनाएको छ । बाँके जिल्लामा कोरोना सङ्क्रमण अत्यधिक मात्रामा बढ्द गइरहेको र कोरोनाका कारण सिकिस्त बिरामीको सङ्ख्या पनि बढिरहेकाले अहिले अक्सिजनको माग अत्यधिक रहेको छ ।
यसैबीच जटिल अवस्थामा उद्योगले यस क्षेत्रको मागलाई धान्न सक्ने हो कि होइन भन्नेबारेमा जानकारी लिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले उद्योगको अनुगमन गरेको छ । बाँकेका अस्पतालबाट मात्रै अहिले दैनिक ४०० सिलिन्डरको माग आउने गरेकोमा मागबमोजिम अक्सिजन ग्यास सिलिन्डर सहजरूपमा आपूर्ति भइरहेको उद्योगले जानकारी गराएको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।
उनले अक्सिजनको अत्यधिक माग भइरहेको अहिलेको अत्यन्त जटिल समयमा नागरिकको जीउ ज्यानको सुरक्षालाई ध्यानमा राखेर उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिइएको पनि बताए । अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्याल, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दीपेन्द्र श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम लगायतको सहभागिता रहेको थियो ।
विशेषज्ञसहित ८० स्वास्थ्यकर्मी थपिँदै
नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएकाले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । भेरी अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक र स्वास्थ्यकर्मीको सङ्ख्या निकै कम भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालले माग गरेबमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेर सोमबार पठाएको छ ।
भेरी अस्पताल अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालका तीनवटा प्रदेशका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचार सहज बनाउन मन्त्रालयले तीन महिनाका लागि विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने अख्तियारीपत्र सोमबार पठाएको बताए । मन्त्रालयले पठाएको पत्रमा अस्पतालबाट तीन महिनाका लागि करार सेवामा जनशक्ति व्यवस्थापन गर्ने माग आएकाले तीन महिनाका लागि अख्तियारीपत्र पठाएको हो ।
मन्त्रालयको अख्तियारीपत्र अनुसार १० जना मेडिकल अफिसर, दुई जना नर्सिङ अधिकृत, तीन जना एनेस्थेसियोलोजिस्ट, पाँच जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना थप्ने अख्तियारीको निर्णय गरेर पठाएको जनाइएको छ । अब तत्काल सूचना निकालेर ८० जनाको पदपूर्ति गरिने जनाउँदै समितिका सदस्य श्रेष्ठले यो जनशक्तिले सङ्क्रमितको उपचारमा धेरै सहज हुने बताए ।
यसअघि बाँकेका अस्पतालमा जनशक्ति र बेडको अभावले सयौँ सङ्क्रमितको उपचारमा समस्या आएपछि स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा.महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोशन न्यौपानेको टोलीलाई अवस्था बुझ्न नेपालगन्ज पठाएको थियो । टोलीले यहाँ पुगेर अस्पतालको भ्रमण र छलफलपछि तत्काल जनशक्ति चाहिने सिफारिस गरेको थियो । टोलीको सिफारिसका आधारमा तत्काल जनशक्ति र शय्या थप्ने निर्णय भएको समितिका सदस्य श्रेष्ठले बताए ।
।