सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

वडामै पहिलो पटक अक्सिजनसहितको ‘आइसोलेसन कक्ष’

आइसोलेसन कक्ष सञ्चालन हुने शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई व्यक्तिगत खर्चमा औषधि खरीद गरेर हस्तान्तरण गर्दै वडाध्यक्ष मो.सफिक बेहना ।

बाँके । बाँकेमा कोरोना संक्रमण दर तीब्ररुपमा बढ्न थालेपछि वडापालिका स्तरमा अक्सिजनसहित १० शैय्याको आइसोलेसन कक्ष सञ्चालनमा आउने भएको छ । बाँकेका ठूला अस्पतालहरुमा समेत नयाँ विरामी भर्ना गर्न समस्या भएपछि नेपालगन्ज उपहानगरपालिका वडा नं. ४ मा आइसोलेसन कक्ष सञ्चालनमा आउने भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये वडा नं. ४ आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने पहिलो वडा बनेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष मो.सफिक बेहनाका अनुसार कोरोना संक्रमण दर बढ्न थालेपछि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा केही दिनभित्रै आइसोलेसन कक्ष सञ्चालनमा ल्याइने भएको छ ।

आइसोलेसन कक्ष सञ्चालनका लागि वडापालिकाले चार लाख बजेट छुट्टयाएको छ भने उपमहानगरपालिका र स्थानीयहरुको पनि सहयोग रहने वडाध्यक्ष बेहनाले जानकारी दिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएलगत्तै केही दिनभित्रै आइसोलेसन कक्ष सञ्चालनमा आउने जनाइएको छ ।

आइसोलेसन कक्ष सञ्चालनका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि उपमहानगरपालिकासँग छलफल भइरहेको र सोही अनुसार तयारी अघि बढाइएको वडापालिकाले जनाएको छ । आइसोलेसन कक्ष सञ्चालनमा आएपछि वडाबासीहरुका लागि उपचारमा थप सहजता आउने वडाध्यक्ष बेहनाले विश्वास व्यक्त गरे ।

‘वडापालिकाभित्रै अक्सिजनसहितको सुविधा सम्पन्न आइसोलेसन सञ्चालनपछि यहाँका अन्य अस्पतालको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा छ,’ वडाध्यक्ष बेहनाले भने । बाँकेको भेरी अस्पताल र शिक्षण अस्पतालले थेग्न नसक्ने गरी कोभिडका बिरामीहरुको सङ्ख्या बढ्न थालेपछि उपचार व्यवस्थापनमै कठिनाई भइरहेको छ ।

त्यसैगरी वडाध्यक्ष बेहनाले व्यक्तिगत खर्चमा वडाभित्रका गरिब तथा विपन्न अवस्थाका कोरोना संक्रमितहरुलाई औषधिसमेत खरीद गरेका छन् । आफ्नो व्यक्तिगत एक लाख ११ हजार रुपैयाँ खर्चमा औषधि खरीद गरी शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत वितरण सुरु गरिएको वडाध्यक्ष बेहनाले सत्यपाटीलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार २०:१५