सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आज मात्रै चारजना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा सोमबार दिनभरीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना बाँकेका र एकजना बर्दियाका रहेका छन्।

कोहलपुरमा ४५ वर्षीया महिलाको मृत्यु भएको हो। वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. ५ की ती महिलाको सोमबार बिहान ७ः०० बजे मृत्यु भएको हो।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ। वैशाख १२ गते भर्ना भएकी महिलाको सोमबार अपराह्न पाँच बजे मृत्यु भएको मेडिकल कलेजले जानकारी दिएको छ।

यसैगरी खजुरा गाउँपालिका वडा नं. २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख ४ गते मेडिकल कलेजमा भर्ना गरेकोमा १२ गते आफन्तले घरतर्फ लगेका थिए। उनको आज ४ बजे मृत्यु भएको छ।

योसँगै हालसम्म बाँकेमा ८९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यसैगरी भेरी अस्पतालमा बर्दियाका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरिरहेका उनलाई भेरीमा ल्याइएको थियो।

मेडिकल कलेजमा १२ गतेदेखि थिए। भेरीमा सोमबार मध्याह्न १२ बजे पुर्‍याइएको थियो। अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको हो।बाँकेमा बाहिरी जिल्लाका एक सय ५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १८:३५