सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन फ्लोर क्रस गरेका नेकपा एमालेका ४ जना प्रदेशसभा सदस्य (सांसद)को पद आज खारेज हुँदैछ । नेकपा एमाले कर्णाली प्रदेशसभाका सचेतक गुलावजङ्ग शाहले आज बस्ने प्रदेशसभामा सुनाउने गरी कारबाहीको पत्र आइतबार दर्ता गराएका थिए ।
चार जना प्रदेशसभा सदस्यले ‘दल त्याग गरेको’ व्यहोरा उल्लेखित पत्र एमालेले प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्र आज बस्ने प्रदेशसभाको वैठकमा सुनाएपछि उनीहरु प्रदेशसभा सदस्य पदबाट मुक्त हुनेछन् । पदमुक्त हुने प्रदेशसभा सदस्य प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् ।
मुख्यमन्त्री शाहीको पद जोगाउन फ्लोर क्रस गरेका उनीहरुमध्ये तीन जना अहिले प्रदेश सरकारमा मन्त्री रहेका छन् । जसमध्ये बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, थापा भौतिक पूर्वाधार विकास र शाही उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री छन् । सांसदबाट पदमुक्त भएकाहरुको मन्त्री पदसमेत जानेछ ।
उनीहरुलाई ६ महिनाका लागि मन्त्री बनाउन चाहेमा फेरी सपथ गराउनुपर्नेछ । संविधानको धारा १७० अनुसार सांसद नभएका व्यक्तिलाई पनि मन्त्री बनाउन सकिन्छ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको १० वैशाखमा बसेको बैठकले उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
।