सूचनाको शक्ति - The Power Of Information

        

बझाङ प्रहरीको अनिवार्य मास्क अभियान

बझाङ । मुलुकमा कोरोना भाइरसको संक्रमणको दर बढिरहेको बेला बझाङको प्रहरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट निस्किएको प्रहरी टोलीले बझाङको सदरमुकाम चैनपुरका चोक–चोक र सडकमा गएर माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्ला बासीलाई सचेत बनाएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित कार्यालय प्रमुख इन्स्पेक्टर कमलप्रसाद चौधरीले बताए ।

उनले भने, ‘कोरोना कसैलाई सोधेर लाग्दैन कोराना लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु बुद्धिमानीपुर्ण हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्नु अरुका लागि हैन आफ्नै लागि हो ।’ समयमै सचेत नहुँदा पछि हुने क्षतिले पछुताउनुभन्दा बेलैमा सचेत बन्नसमेत उनले आग्रह गरे । कोरोना भाइरस संक्रमणले अन्य छिमेककी राष्ट्रहरुमा भएको भयाभह अवस्था आएको छ ।

‘हाम्रो जिल्लामा पनी न आउला भन्न सकिदैन । त्यसैले समयमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ । पसल तथा होटेलहरुमा अनिवार्यरुपमा दुरी कायम गरेर मात्र सामान किन बेच गर्ने गरौं । विना काम सडकमा हिँडडुल नगरौं’ लगायतका सचेतनाका कुराहरु माइकिङ गर्दै जिल्ला प्रहरी कार्यालय बझाङबाट निस्किएको टोलीले सदरमुकाम चैनपुर बजारमा सचेतना फैलाइरहेको छ ।

साथै प्रहरीले घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजर र साबुनपानीले राम्ररी हात धुन, २५ जना भन्दाबढि भेला नहुन र सामाजिक तथा ब्यक्तिगत दुरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुहरुलाइ पनी अनिवार्य माक्स लगाउन, कोरोना भाइरसको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेन बेड तथा क्वारेन्टिमा बस्न समेत आग्रह गरेको छ ।

पछिल्लो समय जिल्ला अस्पताल बझाङको प्रयोशालामा तीन दिनमा ११५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ११ जना पुरुष र १७ जना महिला गरी २८ जनामा पोजेटिभ देखिएको छ भने एक जनाको मृत्यु भइसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०९:३१