नुवाकोट बेलाबेला विभिन्न विषयमा चर्चामा आइरहन्छ । संघीय राजधानीको उत्तरी भेगसँग जोडिएको यो जिल्ला अचेल फेरि खुब चर्चामा आइरहेको छ । पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको निर्वाचनमा दोहोर्याएर भोट हाल्ने अवसर प्राप्त भयो । अझै तेहेराउन मिल्ने हो कि कतै भन्ने आशंका जीवित नै रहेको छ । पटक पटक विज्ञप्ति जारी गरी उजुरबाजुर पर्न गएको खुलेको छ । पत्रकार न हो आआफ्ना मिडिया हाउसबाट भए नभएका समाचार पोष्ट्याउन कसले रोकेको छ र ? अचेल पत्रकारिता पनि सामाजिक सञ्जालजस्तै दुव्र्यवहार बढ्दो छ । जसले जेसुकै लेखे पनि समाचार मान्ने सोच बन्दै गएको छ ।
यसपालि नुवाकोट चर्चा आएको कारण महासंघ निर्वाचनमा धाँधली भयो भन्ने विषयलाई लिएर हो । विवाद उत्पन्न हुनामा कार्यकारी पदमा आसीन पत्रकारहरुको दोष हो या कुनै राजनीतिक दलका नेताहरुको आग्रहमा प्रायोजित, यो बुझ्न कठिन भइरहेको छ । नुवाकोट हुन त कुखुराले पनि राजनीति गर्ने थलो भनेर कतिपय व्यक्तिहरुले भन्ने गरेका छन् । कहिले सकारात्मक रुपमा त कहिले नकारात्मक रुपमा । देशैभरका पत्रकारहरुको चुनाव भर्खरै सकिएको भनेर विभिन्न मिडियाहरुमा नआएका होइनन् । तर नुवाकोट यस्तो जिल्ला बन्न पुग्यो विजेताहरुले निधारमा लगाइएका अबिरका तस्बिरहरु सामाजिक संजालमा रंगिन नपाउदै पुछ्नुपरेको थियो ।
७७ जिल्लामा नदेखिएको घटना नुवाकोटमा हुन पुग्यो । यसरी एउटा नमुना जिल्लाको रुपमा दरिन पुगेको छ । के कारण भन्ने प्रश्नहरु अनुत्तरित छन् । एउटै एलायन्स बनाएर सहयोग गर्ने प्रतिबद्धता सहित प्यानल बनाइएकोमा किन विश्वास गरिएन भन्ने प्रश्न एकातिर रहेको छ भने अर्कातिर निर्वाचन मत परिणामले जिल्लामा सबैलाई अचम्मित बनाएको छ । पहिलो कुरा मत परिणामको तुलनामा व्यक्तिलाई केही पाठ त सिकाएको नै होला । आफैं हेर्नु होस्, अत्याधिक मत प्राप्त गरी विजयी भएका व्यक्तिहरुको दोहोर्याएर भएको मतदानपछि परिणाम निकै खस्किएको छ । नेतृत्वमा खेला गर्ने, अरुलाई पछार्नै पर्ने, आफूमात्र जान्ने बुझ्ने भन्ने बुझाई हावी हुँदै गएको छ । राजनीतिमै पनि अब पार्टी होइन व्यक्ति हेर्ने प्रवृत्ति बढ्दै गएको छ ।
पत्रकारका नेतृत्व तहले के बुझ्नुपर्छ भने आफ्नो स्वार्थको मात्र हेर्ने होइन पुरै संगठनको हितमा काम गर्नुपर्छ । पत्रकारलाई त्यसै चौथो अंग भनिएको होइन । यसले जनता र सरकारका बीच पुलको काम त गर्छ नै, उसको कार्य उदाहरणीय पनि हुनपर्छ भन्ने मान्यता छ । तर, के यो मान्यताअनुरुप काम भएको छ त ? बरु उल्टै कुनै काम गर्दा गर्दै बिग्रियो अमानविय घटना भयो भने संरक्षण गर्ने स्थल पत्रकार महासंघ बन्न पुगेको छ । नुवाकोटमात्र होइन, देशैभर यो विकृति बढ्दो छ । मतदान गर्ने लाइनमा ड्राइभर खलासीदेखि विभिन्न दलमा आबद्ध कार्यकर्ता, निजामती कर्मचारी तथा आइएनजिओमा आबद्ध भएका ब्यक्तिहरुकै राज रहेको देखिन्छ । यस्तो बेथिति र विकृतिविरुद्ध बोल्ने को हो ?
पत्रकार हुँ भनेर विभिन्न नेता तथा उद्योगपतिहरुसँग बार्गेनिङ्ग गर्ने परिपाटी बस्दो छ । यस्ता नकाम त बग्रेल्ती नै छन् । यस्ता नकाम घटनाहरु बिस्तारै बाहिर आएका छन् । सरकारी तथा विभिन्न परियोजनाहरुमा आफ्नो साधनको लागि इन्धन माग्ने, बार्गेनिङ्ग गर्ने तर कुरा नमिलेको अवस्थामा अपमान या दुव्र्यवहार गर्यो भनेर महासंघले बुझ्दै नबुझी विज्ञप्ति निकालेका प्रसंगहरु पनि थुप्रै छन् । महासंघ भनेको पत्रकारहरुको हकअधिकारका लागि बोल्ने संस्था हो, पत्रकारहरुको अभिभावक संस्था हो । तर हुनचाहिँ ठीक उल्टो भइरहेको छ । अवस्था कतिसम्म दुःखदायी छ भने पत्रकारहरुको नाममा आएको तालिममा आफ्ना नातेदार पठाउनेसम्मको प्रचलन छ ।
स्कुलमा हुँदा बेलाबेला कार्यक्रमहरुमा पत्रकारहरु हातमा क्यामेरा र डायरी बोकेर आउँदा शिक्षक तथा शिक्षिकाहरु सबैले नमस्कार गर्दा ओहो भन्ने शब्द आउथ्यो । सबैले सम्मानका साथ बोल्ने गर्दथे । अहिले लाग्छ त्यो बेलाको पत्रकार छवि बेग्लै थियो । आज लाग्छ, वास्तविक पत्रकारहरु निकै पछि छन् अनि राजनीतिक दलका फेरो समाउनेहरु दलकै झण्डा बेकेर मैदानमा छन् । जसलाई लेख्नसँगै कुनै नाता छैन उनीहरु पत्रकारका नेताका रुपमा निर्वाचित हुन्छन् भने के भन्नु ? वास्तवमा जब जब पत्रकारका चुनाव नजिक आउँछ अनि कहिल्यै नसुनिएका, नदेखिएका र नपढिएका नामहरु बरिष्ठ पत्रकारका रुपमा हानाथाप गर्ने चलन छ । एउटा गोजीमा राजनीतिक पार्टी सदस्यता र अर्को गोजीमा प्रेस कार्ड बोकेका नेताबाट अनुमोदित पत्रकारहरुबीच घमासान देखिन्छ ।
आफूलाई पत्रकार भन्ने तर संगठन खोलेर राजनीतिक दलका भातृ संगठनको रुपमा आफूलाई परिचित गरिरहेका छन् धेरैजसो । राजनीतिक दलका नजिक भएका पत्रकारहरु उम्मेदवार भएका छन् भने वास्तविक पत्रकार मतदाता । अर्थात् अवस्था दुर्दशाग्रत छ यसर्थ अब पत्रकार महासंघलाई कस्तो संस्था बनाउने भन्नेबारे विमर्श हुनु आवश्यक छ । आफैंसँग प्रश्न गरौं, के ती सबै पत्रकार हुन् जो नेपाल पत्रकार महासंघका सदस्य छन् ? जो नियमित सञ्चारकर्म गरिरहेका छन्, उनीहरु कतिपय सदस्य नै छैनन्, जो सञ्चारकर्ममा आबद्धता नै छैनन्, उनीहरुसँग पे्रस कार्ड छन् । यी यावत् विषयमा नवनिर्वाचित कार्यसमितिले विशेष ध्यान दिनुपर्छ, पत्रकार र पत्रकारिताको छवि सुधार्न पत्रकारितामा आबद्धसहित महासंघ पनि पूरा शक्तिले लागि पर्नुपर्छ । साथै यस पुनीत कार्यमा नुवाकोटका पत्रकारहरुको समेत विशेष योगदान हुनु वाञ्छनीय छ ।
।