सूचनाको शक्ति - The Power Of Information

        

समाचार

माधव नेपालको अपिल, ‘एकता पक्षमा लाग्नुस्’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन् । नेपालका प्रथम कम्युनिष्ट प्रधामन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसमा श्रद्धाञ्जली दिँदै नेता नेपालले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु ।’

यस्तै, नेता नेपालले नेपाली जनताले ठूलो मौका दिएको अहिलेको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन् । उनले शालीन र बौद्धिक व्यक्तित्व मनमोहनले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गर्दै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०८:४७