काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो २ बजे शुरू हुने अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ । गण्डकी प्रदेशको सोमबार शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने भएको हो ।
पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको हो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन् । त्यसपछि अन्य सांसदले बोल्नेछन् ।
छलफल सकिएपछि बढीमा तीन दिनमा अविश्वासको प्रस्ताव टुंगो लाग्नेछ । अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने प्रतिवद्धता जनाएको छ । २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेसँगै सरकार धरापमा छ ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्ने काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा प्रतिबद्धता जनाएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । एमालेको २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद छन् ।
।