सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आज राति १२ बजेदेखि लागू हुने गरी बाँके र बर्दियामा एक साता लकडाउन

उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र

बाँके । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि (२० गते राति १२ बजेसम्म) लकडाउन गर्ने निर्णय गरेको हो ।

आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन् ।

गत वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गरिएको थियो भएतापनि जिल्लाभर नै संक्रमणको दर बढेपछि प्रशासन यो निर्णयमा पुगेको हो ।

अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ ।

स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध, औषधी पसल, एटिएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन हुनेछन् ।

यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक, लामो दूरीका सवारीसाधन, मालवाहक सामान, निर्माण व्यवसायका साधन, अनुमति प्राप्त सवारीसाधनहरू मात्रै गुड्नेछन् ।

मास्क, भौतिक दुरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

उता बर्दियामा पनि आजदेखि नै लागू हुने गरी लकडाउन गरिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो ।

स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ । अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार यो आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुनेछ ।

त्यस्तै, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि यो निर्णय लागू हुनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०८:२२