सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक सोमबार बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभाको सातौँ अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक सोमबार बस्दैछ ।

सोमबार दिउँसो दुई बजे बस्ने बैठकमा यसअघि प्रदेश सरकारले जारी गरेका केही अध्यादेशका विषयमा छलफल गर्ने र प्रदेशसभा सदस्यहरुलाई निष्कासन गरिएको सूचना सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभा बैठकमा यसअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट जारी भएका प्रदेश लोकसेवा आयोग कार्यविधि र प्रशासकीय कार्यविधि नियमित गर्नेसम्बन्धी अध्यादेशबारे छलफल हुने छ ।

यसैगरी गत बैठकमा नेकपा माओवादी (केन्द्र) बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाउन ‘फ्लोर क्रस’ गरेका नेकपा एमालेका तत्कालिन सांसदहरुलाई निष्कासन गरिएको सूचना पनि सुनाइने छ ।

आईतबार (आज) एमालेले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरी नेकपा माओवादी (केन्द्र) को पक्षमा मतदान गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता भएको छ ।

एमाले संसदीय दलका नेता यमलाल कंडेलले पार्टीको ह्वीप उल्लंघन गरी पार्टीहित विपरित कार्य गरेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

पदमुक्त हुनेहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा रहेका छन् । ज्वाला बाहेक अन्य तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको वैशाख १० गते बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०७:४०