सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोनाबाट १८० को मृत्यु, ८६ सिकिस्त, सात जना भेन्टिलेटरमा

फाइल तस्वीर

बाँके । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लो पटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

कोरोना फोकल पर्सन वलीका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो ।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ । बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

८६ सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ । तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, ६ महिला र ३३ पुरुष गरी ३९ जनाको ह्वाइट हाउस आइसोलेसन र ९ पुरुष कोहलपुर नगरपालिकाको आइसोलेसनमा उपचाररत छन् ।

बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको कोरोना फोकल पर्सन वलीले जानकारी दिएका छन् । उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन ।

स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गएको छ । पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि यसले धेरैलाई चिन्तित बनाएको छ । कोभिडको लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भरीभराउ भएको भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले जानकारी दिए । संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले समेत थाम्न नसक्ने अवस्था आएपछि मेसु डा.थापाले आफ्नो जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा बाँके परेको बताउँदै मेसु डा.थापाले भने, ‘बिरामीले बेड भरिएका छन् । अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था अस्पतालसँग छैन । आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार गरिरहेका छौं । आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन ।’

भेरी अस्पतालमा १४२ आइसोलेसन बेड छन् । ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने मेसु डा.थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउँदैछ । हामीले बेलैमा ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘भेरीले मात्र विरामीको अवस्था धान्न सक्ने देखिँदैन ।’

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ११:४१