सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणले कांग्रेस नेता मोहम्मदी सिद्धिकीको निधन

बाँके । तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ।

कोरोना भाइरस संक्रमणपछि उपचाररत ६२ वर्षीया उनको शनिबार नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो।

उनलाई करिब दुई साता अस्पतालमा राखेर उपचार गरिएको थियो। कोरोना देखिएपछि गत चैत २८ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका डाक्टर पारस पाण्डेले श्वासप्रश्वाससमेत समस्याको समस्या रहेकी  सिद्धिकीको निधन भएको बताए।  सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सभासद भएकी थिइन्।

उनले लामो समय मुस्लिम महिलाको अधिकारका लागि संघर्ष गरिन्। उनी २०३६ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिइन्।

उनको अन्त्येष्टी गरिसकिएको छ। शनिबार भेरी अस्पतालमा कोरोना संक्रमणले सिद्धिकीसहित ७ जनाको मृत्यु भएको छ।

कांग्रेस सभापति देउवा दु:खी

सिद्धिकीको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।

‘कांग्रेसकी नेतृ, महिला अधिकारकर्मी र संविधान सभा सदस्य मोहम्मदी सिद्दिकी बहिनीको निधनको खबरले निकै दुखी भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँको निधनले कांग्रेसले एउटा असल महिला नेतृ गुमाएको छ।’

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०९:०२