सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमितको पीडामा मल्हम लगाउँदै मनकारी वडाध्यक्ष बेहना

बाँके । अस्पतालका सबै बेड भरिभराउ भएपछि विरामी कुरूवा कोरोना सक्रमितसँगै सुत्न बाध्य छन् । कतिबेला आफूलाई संक्रमण हुने हो भन्ने कुरूवालाई त्रास छ । भेरी अस्पतालमा १४२ बेडको आइसोलेसन वार्ड बिरामीले भरिएको छ । आइसीयू बेड र भेन्टिलेटर पनि खाली छैन । चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्ने कुरूवाको बाध्यता छ ।

बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन । आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन । पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको छ । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ एक विरामीका कुरूवा नन्दलाल खड्काले भने, ‘यसरी कसरी कोरोनाबाट बच्न र बचाउन सकिएला ।’

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ । त्यससँगै कुरुवाको संख्या पनि उत्तिकै छ । कतिसम्म भने संक्रमित र कुरुवा छुट्याउनसमेत सकिँदैन । अस्तव्यस्त हालतमा विारमी कुर्दाकुर्दा कतिपय कुरूवा आफैं संक्रमणको जोखिममा छन् । ‘भुइँमै रात बित्छ, भुइँमै दिन जान्छ,’ उनले सुस्केरा हाले, ‘यस्तो दुःख त कसैलाई नपरोस् ।’

सेवामा खटिएका स्टाफ नर्ससमेत आफू संक्रमित हुने डरले बिरामी हेर्न मान्दैनन् । अस्पतालमा संक्रमितलाई पानी खान दिने मान्छेसमेत छैनन् । ‘कोरोना संक्रमितले पानी पनि खान नपाएर ज्यान त्याग्नु परिरहेको छ,’ एक जना संक्रमितले भने । अस्पतालमा कोरोना संक्रमित बिरामीले कोरोना वार्ड नैै खचाखच भरिएको छ ।

कतिपय बिरामी भेन्टिलेटरको सहारामा उपचार गराइरहेका छन् त कतिपय बिरामी अक्सिजनको सहारा लिइरहेका छन् । बिरामीलाई तातो पानीसम्म बाहिरबाट ल्याउनुपर्ने कहालीलाग्दो अवस्था भइरहँदा नेपालगन्ज उपमहानगरपालिका–४ का मनकारी वडाध्यक्ष मो.सफिक बेहनाले फेरि मानवीय कार्य गरेका छन् ।

अध्यक्ष बेहनाले कोरोना संक्रमित बिरामीहरुको दुखलाई आफ्नो दुख सम्झँदै पुनः कोरोना वार्डमा तातो पानी पिउनका लागि आफ्नो तर्फबाट आधुनिक मेसिन नै जडान गरिदिएका छन् । वडाध्यक्ष बेहनाले शनिबार साँझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई ३५ हजार पर्ने आधुनिक वाटर डिस्पेंसरी हस्तान्तरण गरेका हुन् ।

उक्त आधुनिक वाटर डिस्पेंसरीबाट कोरोना संक्रमित बिरामीले भनेअनुसारको तातो पानी अब पिउन पाउने छन् । वडाध्यक्ष बेहनाले मर्दापर्दा सबैलाई सहयोग गर्नु नै ठुलो कुरा भएकोले यस्तो बिषम परिस्थितिमा अस्पतालमा कोरोनाको पीडाबाट मृत्युसँग लडिरहेका दाजुभाई–दिदीबहिनीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा धेरै खुशी भएको बताएका छन् ।

कोरोनाबाट कसैको अकालमा मृत्यु नहोस् भनेर कामना गर्दै वडाध्यक्ष बेहनाले आगामी दिनमा अरु पनि सहयोग गर्ने वचन दिए । उपमेयर उमा थापा मगर र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले वडाध्यक्ष बेहनाको सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । वडाध्यक्ष बेहनाले गरेको सहयोगप्रति कोरोना संक्रमित बिरामीहरुले समेत धन्यवाद ब्यक्त गरेका छन् ।

वडाध्यक्ष बेहनाले शनिबारमात्रै भेरी अस्पतालमा कोरोना वार्डलाई २०० वटा अक्सिजन सिलिन्डरको लागि २ लाख रुपैयाँ सहयोग गरेका थिए । वडाध्यक्ष बेहना दयालु, सहयोगी र मनकारी जनप्रतिनिधिका रुपमा परिचित छन् । वडाध्यक्ष बेहनाले अस्पतालमा उपचार गराइरहेका सबै संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार ०८:५३