सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भारतमा अक्सिजन अभावमा अस्पताल बाहिरै मरिरहेछन् कोरोना संक्रमित

काठमाडौं । भारतमा गत जनवरीदेखि नै कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भएको थियो । खोप लगाउन सुरु भएपछि मानिसहरु कोरोनाको प्रभाव घट्छ भन्नेमा ढुक्क थिए किनभने विज्ञहरुले खोपको विकास र प्रयोगसँगै यसले कोरोनाको असरलाई कम गर्ने बताएका थिए । तर त्यसको ठिक विपरित भारतमा कोरोनाको भयानक प्रभाव देखिन थालिएको छ ।

भारतमा अहिले दैनिक ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन् । कोरोनाले भयावह अवस्था निम्तिएको भारतमा गएको २४ घण्टामा पनि ३ लाख ४६ हजार ७८६ नयाँ कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा भारतमा २ हजार ६२४ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको छ भने कोरोनाले यहाँ १ लाख ८९ हजार ५४४ को ज्यान गइसकेको छ । विज्ञहरुका अनुसार कोरोना भाइरसको डबल म्युटेन्ट र ट्रिपल म्युटेन्टजस्ता नयाँ कोरोनाका प्रकारका कारण यहाँ तीव्र गतिमा कोरोना संक्रमित थपिरहेका हुन् ।

अक्सिजन अभाव

यसरी दैनिक धेरै मात्रामा कोरोना संक्रमितहरु थपिँदा भारतभर अक्सिजनको अभाव देखिन थालेको छ । कोरोनाबाट संक्रमित हुनेहरुमा सास फेर्न गाह्रो हुने समस्या भएपछि हजारौं दैनिक अस्पताल भर्ना हुन थालेका हुन् । धेरैलाई एकैपटक अक्सिजन चाहिएपछि अक्सिजनको अभाव भएको हो ।

अहिले अक्सिजन चाहिने संक्रमित धेरै भएपछि अस्पतालका शैय्याहरु भरिएका छन् । भारतका विभिन्न अस्पताल बाहिरै बिरामीको उपचार भइरहेको छ । उपचार नपाएरै संक्रमित मानिसहरु अस्पताल बाहिरै प्राण त्याग्न बाध्य छन् । कोलकतास्थित सघन उपचार विशेषज्ञ डा.शाश्वती सिंहाले आपत्कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भएको बताएकी छिन् ।

‘आफ्नो २० वर्षको कार्यकालमा मैले यस्तो अवस्था अहिलेसम्म देखेकी थिइनँ,’ सघन उपचार विशेषज्ञ सिंहा भन्छिन् । उनीसँगै भारतका स्वास्थ्य विज्ञले कोरोना भाइरसलाई सामान्य नठान्न आग्रह गरेका छन् । यतिबेला कोरोनाबाट बच्न भन्दै भारतका विभिन्न स्थानमा लकडाउन गरिएको छ ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सामूहिक अन्त्येष्टी

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार १४:२६