बाँके । अस्पतालका सबै बेड भरिभराउ भएपछि विरामी कुरूवा कोरोना सक्रमितसँगै सुत्न बाध्य छन् । कतिबेला आफूलाई संक्रमण हुने हो भन्ने कुरूवालाई त्रास छ । भेरी अस्पतालमा १४२ बेडको आइसोलेसन वार्ड बिरामीले भरिएको छ । आईसीयू बेड र भेन्टिलेटर पनि खाली छैन । चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्ने कुरूवाको बाध्यता छ ।
बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन । आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन । पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको छ । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ एक विरामीका कुरूवा नन्दलाल खड्काले भने, ‘यसरी कसरी कोरोनाबाट बच्न र बचाउन सकिएला ।’
कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ । त्यससँगै कुरुवाको संख्या पनि उत्तिकै छ । कतिसम्म भने संक्रमित र कुरुवा छुट्याउनसमेत सकिँदैन । अस्तव्यस्त हालतमा विारमी कुर्दाकुर्दा कतिपय कुरूवा आफैं संक्रमणको जोखिममा छन् । ‘भुइँमै रात बित्छ, भुइँमै दिन जान्छ,’ उनले सुस्केरा हाले, ‘यस्तो दुःख त कसैलाई नपरोस् ।’
सेवामा खटिएका स्टाफ नर्ससमेत आफू संक्रमित हुने डरले बिरामी हेर्न मान्दैनन् । आफ्नै आँखाअगाडि मंगलबार राति पानी खान दिने मान्छेसमेत नभएर एक संक्रमित पुरुषको मृत्यु भएको एक कुरूवाले बताए । ‘संक्रमितले पानी पनि खान नपाएर ज्यान त्याग्नु परिरहेको छ,’ उनले भने ‘कसैलाई कुनै वास्ता छैन ।’ अस्पतालमा पीपीई लगाएका स्टाफ नर्स भएर पनि बिरामीले सेवा पाउन नसकेको कुरुवाहरूले गुनासो गरेका छन् ।
पीसीआर चेकजाँचका लागि नेपालगन्जस्थित भेरी अस्पतालको स्वाब संकलन केन्द्रमा भीड लागेका सर्वसाधारणहरु ।
भेरी अस्पतालमा कोरोना वार्डमा राखिए पनि बेलैमा उपचार गराउन उनले स्वास्थ्यकर्मीसित झगडा नै गर्नुपरेको कुरूवा सुनाउँछन् । ‘मेडिकल राउन्डमा डाक्टरहरू नै हुँदैनन्,’ विरामी कुरूवा रमेश केसीले भने ‘धेरैपटक अनुरोध र झगडा गरेपछि मात्रै सुनुवाइ हुन्छ ।’ अस्पतालमा संक्रमित बिरामीको चाप अत्यधिक छ । भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा स्वास्थ्यकर्मीको अभाव हुँदाहुँदै पनि सक्दो सेवा प्रदान गरिएको बताउँछन् ।
उनकाअनुसार एक जना नर्सले ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । ‘स्थिति नियन्त्रणबाहिर गएकाले बिरामीले चाहेजस्तो सुविधा हुन सक्दैन, कोभिडका बिरामीको उपचार गर्ने जिम्मा अस्पतालको मात्र होइन,’ उनले भने, ‘परिवार, समाज, समुदाय, राज्य सबैले उत्तिकै सहयोग गर्नुपर्छ ।’ अस्पतालमा नर्सिङ स्टाफ १० जना, एनेस्थेसिया विशेषज्ञ १०, सहयोगी २० जना थप जनशक्ति तत्काल खाँचो देखिएको छ ।
२४ घण्टामा सात जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत आज एक संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार अर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज ओलीले बताए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका–१ की ७१ वर्षीय महिला, गाउँपालिका–६ का २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यानका ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दियाका ४२ वर्षीय पुरुष र बाँके बैजनाथ गाउँपालिका–२ का ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।
यस्तै भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज–८ का ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति ओलीले बताए । योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।
।