सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी

बाँके । बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखामा ताला लगाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नगर शिक्षा शाखामा तालाबन्दी गरेको हो । अनेरास्ववियुले गत चैत्र २६ गते विभिन्न मागहरु राख्दै कोहलपुर नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

आफ्ना मागहरु पुरा गर्न तर्फ कोहलपुर नगर शिक्षाले कुनै पनि चासो नदिएका कारण नगर शिक्षा शाखामा तालाबन्दी गर्नुपरेको अनेरास्ववियु बाँकेका अध्यक्ष दिनेश केसीले जानकारी दिए । उनका अनुसार नगर शिक्षा शाखालाई ध्यानाकर्षण पत्रमार्फत सम्पूर्ण शैक्षिक संस्थाले लकडाउन अवधिमा लिएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने, विद्यार्थीलाई पठनपाठनका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने शैक्षिक संस्थालाई कारबाही गरी माग गरिएको थियो ।

साथै ध्यानाकर्षण पत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप पठनपाठन सञ्चालन गर्नुपर्ने, सवारी साधनको क्षमताभन्दा बढी विद्यार्थी बोक्ने शैक्षिक संस्थालाई कारबाही गर्नुपर्ने, भौतिक मापदण्ड पुरा भएका शैक्षिक संस्थालाई मात्र अनुमति प्रदान गर्नुपर्ने र कोहलपुर नगर शिक्षाले वर्षभरी गरेका गतिविधिहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको थियो ।

उक्त मागहरु पूरा नगरिएकोे र वार्तामा समेत नबोलाइएकाले शिक्षा शाखामा तालाबन्दी गर्नु परेको अध्यक्ष केसीले बताए । उनले सम्बन्धित निकायले आफ्ना मागहरुको तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गरिने र नगर शिक्षा शाखामा लगाइएको ताला कसैले तोड्न कोशिस गरेमा त्यसको जिम्मेवार सम्बन्धीत प्रशासन नै रहने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १९:०४