बर्दिया । क्रियाशील सदस्यता वितरणमा विवादमा नेपाली काँग्रेस बर्दिया जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएको छ । क्षेत्रीय सभापतिले पार्टी कार्यालयमा तालाबन्दी गरेको काम गर्न सक्ने स्थिति नभएको भन्दै जिल्ला कार्यसमितिले राजीनामा दिएको हो । राजिनामा दिएकाहरुले विज्ञप्ती जारी गर्दै क्रियाशील सदस्यता नवीकरण भइरहेका बेला सचिवालय कक्षमा प्रवेश गरेर लछारपछार गरिएको आरोप लगाएका छन् ।
कार्यवाहक सभापति श्रीलाल यादव, महासमिति सदस्य विद्याप्रसाद खनाल, पार्टी सचिव जीवन मल्ल, जिल्ला कार्यसमिति सदस्य मेघबहादुर गुरुङ लगायतले जिल्ला सभापति तथा सांसद सञ्जय गौतम समक्ष राजीनामा दिएका छन् । क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्वसचिव तेजबहादुर भाट लगायतले अराजक जत्था ल्याएर पार्टीका नेताहरुले लछारपछार गरेको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
‘अराजक जत्था ल्याई पार्टी कार्यालयको सचिवालय कक्षमा पार्टीका नेताहरुलाई लछारपछार गरी कार्यालय बाहिर ल्याई पार्टी कार्यालयमा तालाबन्दी गर्नेजस्तो घृणित, अनुशासनहिन कार्य गरेको हुँदा यस्ता अनुशासनहिन कार्यलाई निरुत्साहित गर्न निजहरुलाई अनुशासनको कारबाही गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्दी गरेकाले हामी पार्टीका काम गर्न असमर्थ हुँदै आ–आफ्ना पदबाट राजीनामा दिएका छौं ।’ जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएपछि काठमाडौंमा रहेका जिल्ला सभापति एवं सांसद रेग्मी जिल्ला पुगेका छन् ।



।