सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको चपेटामा नेपालगन्ज

भेरीमा अक्सिजन अभाव, २०० सिलिण्डर सहयोग गर्ने वडाध्यक्ष बेहनाको घोषणा

बाँके । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । नेपालगन्ज हायलकायल बनेको छ । स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन् । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन अभाव भएको छ ।

सरकार बेखबर छ, नेपालगन्ज दुखिरहेको छ । न मुख्यमन्त्रीलाई चिन्ता, न त प्रधानमन्त्रीलाई चासो । सत्ताको लडाइँमा हानथाप गरिरहेका मुख्यमन्त्री र प्रधानमन्त्रीलाई जनताको जीउज्यानको के मतलब ? स्थानीय सिंहदरबार अब अन्तिम किस्ताका लागि सोचमग्न छन्, कोरोनाको जोखिमका बारेमा ध्यान दिने फुर्सद छैन ।

स्थानीय, प्रदेश र संघीय सरकारले विरामीको व्यवस्थापनमा चासो नदेखाएको गुनासो बढ्दै गएको छ । पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि उल्लेख्य छ । कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको भन्दै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।

भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ । यस्तो अवस्थामा तीनै तहका सरकार कानमा तेल हालेर सुतिरहेका छन् । यहीबेला बाँकेको एक स्थानीय तहका एक जना मनकारी वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन उपलब्ध गराउने घोषणा गरेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत हुने भएकाले आजै शुक्रबार भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन हस्तान्तरण गर्ने जानकारी दिए । उनले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि र अस्पतालका दृष्यले मलाई मर्माहत बनायो । त्यसपछि मैले आफ्नो व्यक्तिगत तर्फबाट अस्पताललाई २०० अक्सिजन सिलिन्डर बराबरको रकम भेरी अस्पताललाई हस्तान्तरण गरेको हुँ । कोरोनाविरुद्धको लडाईमा मेरो सधैं साथ रहनेछ ।’

मनकारीहरुलाई सहयोगको आग्रह गर्दै वडाध्यक्ष बेहनाले भनेका छन्, ‘तपाईको सानो सहयोगले बिरामी र अस्पताललाई सहज हुनेछ ।’ बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । कोरोना संक्रमणको दर बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको र अक्सिजनसमेत अभाव भएपछि आफुले सक्दो सहयोगको घोषणा गरेको उनले बताएका छन् ।

https://www.facebook.com/naddaf.safeek/posts/301261738034608

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ११:१०

सिफारिस