सूचनाको शक्ति - The Power Of Information

        

एमाले बैठक आज, स्पष्टीकरणपछिको कदमबारे छलफल हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । एमालेको दशौँ महाधिवेशन आयोजक समितिको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समितिलाई दशौँ महाधिवेशन आयोजक समितिमा रुपान्तरित गरेका थिए ।

सोही कमिटीको आज बैठक बस्न लागेको हो । उक्त बैठक गत वैशाख ६ गते बसेको बैठककै निरन्तरता भएको बताइएको छ । वैशाख ६ गतेको बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णालीका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही अनुसार एमालेले वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधिसकेको छ । जसको जवाफ सांसदहरुले एमाले संसदीय दलको कार्यालयमा पठाइसकेका छन् ।

यसबीचमा अध्यक्ष ओली र नेता नेपालबीच नागपोखरीको मेरियट होटलमा बुधबार र बिहीबार दुई चरणमा वार्तासमेत भइसकेको छ । तर, वार्ता फलदायी नभएको नेपाल पक्षको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ०८:५०