सूचनाको शक्ति - The Power Of Information

        

नाकामा सतर्कता फितलो, ‘हटस्पट’ बन्दै पर्सा

काठमाडौं । भारतसँगको खुला सीमाका कारण सहज आवतजावत र स्वास्थ्य मापदण्ड लागू गर्न सर्वसाधारण गम्भीर नहुँदा पर्सा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ ।

स्वास्थ्य संस्थामा साधनस्रोतको अभाव छ, जसले संक्रमित बढ्दै जाने र मानवीय क्षति बढ्ने खतरा छ । युवा र बालबालिकासमेत संक्रमित भएपछि चिकित्सक पनि चिन्तित छन् ।

भारतमा भयावह रूप लिएको कोरोनाको असर सीमावर्ती जिल्लामा बढी छ । पर्सामा पनि संक्रमित हुने र ज्यान गुमाउने संख्या बढेको छ । नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार पछिल्लो समयमा अस्पतालमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नारायणी अस्पतालमा परीक्षण गराएकामध्ये पर्साका तीन सय २५ जना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेसँगै नारायणी अस्पतालमा गम्भीर बिरामी पनि बढेको डा. दासले बताए ।

उनका अनुसार बुधबारसम्म नारायणी अस्पतालको आइसियू र एचडियू कक्षमा गरी ३७ संक्रमित भर्ना छन् । अस्पतालको आइसियू र एचडियू वार्डको बेडक्षमता ४२ मात्र छ । बिरामी थपिँदै गए उपचारमा समस्या हुने अस्पताल प्रशासनको चिन्ता छ ।

अहिले जिल्लामा करिब तीन सय कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो एक हप्तामा पर्सामा मंगलबारसम्म सातजनाको मृत्यु भएको छ । जसमध्ये पर्साका पाँच र बारा र सर्लाही एक–एकजना छन् ।

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै चिकित्सकले स्थिति नियन्त्रणबाहिर जान सक्ने आशंका गरेका छन् । पछिल्लोपटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि रहेको र संक्रमण नियन्त्रणबाहिर जान सक्ने नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

उनका अनुसार गत वर्ष कोरोनाको संक्रमणबाट बालबालिका र युवा कम सिकिस्त भएका थिए । तर, नयाँ भेरियन्टले उनीहरूलाई पनि बढी प्रभाव पारेको उनको भनाइ छ । डा. सिंहका अनुसार अहिलेको संक्रमणले धेरैलाई चिन्तित बनाएको छ ।

संक्रमित थपिँदै गए पनि स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिएको छ । जिल्लाका बजार क्षेत्रमा भिडभाड छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पर्याप्त गम्भीरता देखिएको छैन ।

नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किनेको व्यवस्थित स्वास्थ्य परीक्षण गरिएको छैन, यसले संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । भारतबाट फर्किनेका लागि क्वारेन्टिनको व्यवस्था छैन, उनीहरू सीधै घर गएका छन् । वीरगन्ज नाकामा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले तापक्रम जाँचिरहेका छन् ।

सय डिग्रीभन्दा माथि तापक्रम भएकालाई शंका लागेमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । हेल्थ डेस्कमा अहिलेसम्म परीक्षण गरिएका साढे पाँच सयमध्ये २० जनामा एन्टिजेन पजिटिभ देखिएको छ ।

वीरगन्ज महानगरपालिकाका तर्फबाट हेल्थ डेस्कमा खटिएका ल्याब असिस्टेन्ट विपिन चौरसियाका अनुसार बुधबार परीक्षण गरिएकामध्ये चारजनाको पजिटिभ रिपोर्ट आएको छ । उनीहरूमध्ये दुईजना भारतीय हुन् । पजिटिभ देखिएका भारतीयलाई उतै फर्काइएको छ । कोरोनाको लक्षण देखिएका दैनिक ४० जनाको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले जरिवाना गर्न थालेको हो ।

अस्पतालमा बेड अभावमा होम आइसोलेसनमा रहेका संक्रमित सबै चिकित्सकको परामर्शमा छन् । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सराबगीले आमनागरिक तथा सर्वसाधारणले व्यक्तिगत र सामुदायिक सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । २५ जनाभन्दा बढी भेला नहुन र पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा पूर्वस्वीकृति लिनुपर्ने प्रशासनले सूचना जारी गरेको छ ।नयाँ पत्रिका

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ०८:१७