सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको दोस्रो लहर

कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण तीब्र, आइसोलेसन र क्वारेन्टिन बन्द

काठमाडौंं । कोरोना संक्रमणको सेकेन्ड वेभ अर्थात् दोस्रो लहर तिव्र रुपमा फैलिइरहेको छ । संक्रमितको संख्या बढ्दै गएसँगै दिनप्रतिदिन अस्पताल भर्ना हुने र मृत्युदर पनि उकालो लाग्दै गइरहेको छ । काठमाडौं उपत्यका तथा बाहिरी जिल्लाका कोभिड अस्पतालमा रहेका आइसियु र भेन्टिलेटर बेड संक्रमितले भरिएका छन् ।

लक्षण भएका संक्रमित अस्पताल भर्ना हुने र सामान्य अवस्था रहे घरमै आइसोलेसनमा बसी उपचार गरिरहेका छन् । संक्रमितको सम्पर्कमा आएका सबै उच्च जोखिममा रहन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही दिनयता परीक्षणको दायरा बढ्दा संक्रमितको संख्या पनि बढ्दै गएको हो । तर, परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या बढ्दा कन्ट्याक्ट ट्रेसिङ हुन छोडेको छ ।

एक वर्षअघि कसैलाई संक्रमण पुष्टि भएमा उसको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्ने गरिएको थियो । संक्रमण पुष्टि भइसकेपछि सरुवा रोग तथा इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले स्थानीय तहसँग समन्वय गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गर्थ्यो । थप अरुमा संक्रमण नफैलियोस् भनेर परीक्षण गरी आइसोलेट गर्ने गरिन्थ्यो ।

अहिले स्थानीय तहले गर्ने कन्ट्याक्ट ट्रेसिङ र यसअघि बनाएका सबै क्वारेन्टिन बन्द गरेका छन् । आवश्यक परेमा स्थानीय तहले पुनः क्वारेन्टिन सञ्चालन गर्ने पनि बताएका छन् । अहिले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाले आफैं परीक्षण गर्न जाने गरेका छन् । कन्ट्याक्ट ट्रेसिङ नहुँदा तीब्ररुपमा संक्रमण फैलिइरहेको छ । कन्ट्याक्ट ट्रेसिङमा द्रुत गतिमा परीक्षण गरी आइसोलेसनमा राख्नुपर्ने विज्ञहरूले बताउन थालेका छन् ।

इडिसिडीले परीक्षण गर्दैन, स्थानीय तहले गर्छ

संक्रमण बढदै गइरहेकाले प्रभावकारी रुपमा परीक्षण गर्न देशभरका स्थानीय तहलाई आग्रह गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेल बताउँछन् । इडिसिडीले आफैं गएर परीक्षण गर्न नसक्ने उनले बताए । प्रभावकारी रुपमा ट्रेसिङ नगर्दा थप संक्रमण फैलिइरहेको उनको भनाइ छ ।

‘देशभरका स्थानीय तहलाई प्रभावकारी रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्न भनिएको छ । विभिन्न नगरपालिका तथा महानगरपालिकाका स्वास्थ्यकर्मीलाई परीक्षण गर्न तालिम दिएका छौं,’ उनले भने । स्थानीय तहलाई स्वास्थ्य सामग्रीको अभाव भएमा उपलब्ध गराउने काम भइरहेको उनले बताए । ‘केही ठाउँमा कन्ट्याक्ट ट्रेसिङ भएको छैन,’ उनले भने,’ कोरोना पुष्टि भएकाहरू परीक्षण केन्द्रमा गइ परीक्षण गर्ने भएकाले पनि कन्ट्याक्ट ट्रेसिङ कम भएको हुन सक्छ ।’

सबै स्थानीय तहका प्रमुखलाई कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन निर्देशन दिएको पौडेलको भनाइ छ । बाहिरबाट आएका मानिसलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्न निर्देशन दिएको उनले बताए । ‘के कति कारणले स्थानीय तहले काम गर्न सकेको छैन । त्यसबारेमा आज सबै स्थानीय तहका प्रमुखसँग छलफल गर्न लागेका छौ,’ उनले भने । सर्वसाधारण नागरिकले जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।

समुदायमा परीक्षण नै भएन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी समुदायमा कोरोना फैलिसक्दा पनि प्रभावकारी रुपमा परीक्षण हुन नसकेको बताउँछन् । ‘समुदायमा कन्ट्याक्ट ट्रेसिङ नहुँदा अस्पतालमा गई परीक्षण गर्नेहरू बढेका छन्,’ राजभण्डारीले भने, ‘अहिलेको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ ट्रेसिङ धेरै भन्दा धेरैको गरी उपचार गरि हाल्नुपर्छ । ’

संक्रमितको सम्पर्कमा आएका मानिसहरुलाई विभिन्न माध्यम तथा फोन सम्पर्क गरी परीक्षण गरीरहेको काठमाडौं महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हरि कुँवर बताउँछन् । सबैलाई सम्पर्क गरी राष्ट्रिय सभा गृहमा परीक्षण गर्न जानलाई आग्रह गरेको र केहीको घरमा गइ स्वाब संकलन गरिरहेको उनले बताए । उनका अनुसार अहिले समुदायमा परीक्षण भएको छैन तर त्यसका लागि पनि तयारी भइरहेको छ ।

सामाखुसीस्थित राधेराधेको सत्संग भवनमा अक्सिजनसहितको २ देखि ३ सयसम्मको सेमी अस्पताल निर्माण गर्न लागिएको कुँवरले जानकारी दिए । क्वारेन्टिन भन्दा पनि आइसोलेसन निर्माणमा महानगरले जोड दिएको उनको भनाइ छ । ‘संघीय सरकारले अस्पताल निर्माण गरेकाले अहिलेलाई अस्पताल प्राथमिकतामा परेको छैन,’ कुँवरले भने, ‘केन्द्र, प्रदेश र स्थानीय सरकारको संयोजनमा अस्पतालमा संक्रमितको उपचारको जिम्मा लिने गरी काम भइरहेको छ ।’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार १९:४५