सूचनाको शक्ति - The Power Of Information

        

समाचार

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षद्वारा महिला कर्मचारीमाथि शोषण !

काठमाडौं । नेपालका पत्रकारहरुको हकहितको लागि बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि अध्यक्ष राजेन्द्र अर्यालले मानसिक शोषण गरेको आरोप लगाएकी छिन् । ‘मलाई सन्तुष्ट पार्न सकिनौं, त्यही भएर तिमीलाई काममा राख्न सक्दिन’ भनेर मानसिक तनाव दिएको आरोप लगाएकी छिन् ।

‘किन सर मेरो काम राम्रो भएन र भनेर सोध्दा अर्यालले काम त ठिकै त अरु कुरामा सन्तुष्ट पार्न सकेनौं’ भनेर भनेको अडियो आफूसँग सुरक्षित रहेको दावी ती महिलाको छ । यसका साथै अर्यालले देशको जुनसुकै निकायमा गएपनि उनले न्याय नपाउने भन्दै टेलिफोनमा उनलाई हतोस्साही पार्ने प्रयास गरेका छन् ।

‘प्रधानमन्त्रीले बोलाउँदा त नजाने मान्छे हो, मलाई प्रधानमन्त्री, राष्ट्रपतिले हल्लाउन सक्दैन । राष्ट्रपति र प्रधानमन्त्रीलाई बरु म नै हल्लाइदिन्छु । अर्थमन्त्रालयबाट १५ गतेसम्मलाई तपाईँलाई राख्न भनेको छ त्यसपछि म थप्दिन ।’

उनी थप भन्छन्, ‘१५ गते पछि म नयाँ दरवन्दी खुलाउँछु । अफिस मेरो तजबिजको कुरा हो, मेरो अफिस म बन्द गरेर हिड्न पनि सक्छु । म नेपाल सरकारको आधिकारिक अध्यक्ष हो । त्यसैले मलाई जे मन लाग्छ म त्यही गर्छु ।’

ती महिलाले आफूसँग सुरक्षित भएको अडियोको कुरा र माथि टेलिफोन सम्पर्कको अडियो रेकर्ड सुनेपछि हामीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याललाई सम्पर्क गर्ने प्रयास गर्यौं । फोन नउठेपछि म्यासेज पठाएर फेरी फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

के ती महिलाले भनेको आरोप सत्य नै हो त भनेर अर्यालसँग बुझ्ने हाम्रो प्रयास भने विफल रह्यो । पीडितले आफूलाई न्याय चाहियो भन्दै बुधबार पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीलाई ज्ञापन पत्र बुझाएकी छिन् । उनले ज्ञापनपत्रमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले विनाकारण कार्यालयमा हाजिर हुन रोक लगाएको उल्लेख गरेकी छिन् ।

यसका साथै अर्यालले आफू बस्ने कोठाबाट कुर्सी हटाएर कोठामा चाबी लगाइदिएको आरोप लगाइन् । कार्यालयमा आएको खण्डमा प्रहरी बोलाएर जेल चलानी गर्ने धम्की दिने, कुनै पनि निकायद्धारा फोन गर्न लगाएमा साइबर क्राइममा मुद्दा हालिदिने र कालोसूचीमा राखिदिने भन्दै पटक पटक धम्की दिँदै एक वर्ष देखि मानसिक रुपमा शोषण गरेको उजुरीपत्रमा उल्लेख छ ।

पत्र लिदैं नवनिर्वाचित उपाध्यक्ष बाला अधिकारीले उक्त्त मुद्दाको सम्बोधन गर्ने आश्वाशन दिइन् । उनले भनिन्, ‘हामी पदाधिकारी बैठक बसेर तपाईँको मुद्दाको सम्बोधन गर्नेछौं । सकेसम्म मिलेर नै जाउ भनेर राजेन्द्र जीलाई फोन÷म्यासेज गरे । उहाँ सम्पर्कमा आउनु भएन ।’ मंगललबार अर्यालले फोन गरेर, भोलीबाट कार्यालय नआउनु, बाहिर ताला तलाएको हुन्छ ।

वरीपरी प्रहरी हुन्छन् भन्दै ती महिला कर्मचारीलाई चेतावनी दिएका थिए । नभन्दै बुधबार केटिएम दैनिकका संवाददाता त्यहाँ पुग्दा बाहिरबाट गेटमा ताला लगाइएको थियो । भित्र कर्मचारी काममा व्यस्त थिए । उनीहरु गुनगुन गरेको आवाज बाहिर सुन्न सकिन्थ्यो ।

भित्र कर्मचारी रहेको थाहा पाएपछि संवाददाताले त्यहाँ फोन गर्दा एक कर्मचारीले भनिन् ‘कोरोनाको कारणले गर्दा बाहिरको मानिसहरुलाई प्रवेश निषेध गरेकोले गेट लगाइएको हो ।’ उनले थपिन, ‘हाम्रो कार्यालयको को एकजना कर्मचारीलाई कोरोनाको संक्रमण भएकोले सुरक्षित रहनलाई हामीले गेट लगाएर बसेका हौं, आशा छ तपाईँले हाम्रो समस्या बुझ्नुहुनेछ ।’

अधिवक्ता महेश्वर चौधरी भन्छन्, ‘२४० दिन काम गरिसकेपछि अनिवार्यरुपमा स्थायी गर्नुपर्ने प्रावधान छ । त्यसलाई हामीले नकार्न मिल्दैन । झन् अन्य मिडियाहाउसहरुको निगरानी गर्ने संस्थाले आफै कर्मचारीलाई यातना दिन मिल्दैन ।’ त्यस्तै श्रमजीवी पत्रकारको हक र हितका लागि लडेका पत्रकार जन्मदेव जैसी महिला कर्मचारीले न्याय पाउनुपर्ने कुरामा जोड दिन्छन् ।

उनी भन्छन्, ‘अहिलेको श्रम ऐनहरूलाई परिमार्जित गरेर श्रमजीवीहरूको पेसागत अधिकारको लागि विशेष गरी महिला मजदुरहरूको पेसागत अधिकारलाई ग्यारेन्टी गर्ने खालको बनाउनु पर्छ । नेपालको प्रचलित ट्रेड युनियनहरूलाई कुल्चिने प्रवृत्ति मौलाएको छ यस्लाई रोक्न अब लागि लागिपर्नु पर्छ ।’ पत्रकारहरुको हक र हितको लागि लड्ने संस्थाले आफै यस्तो हर्कत गर्नु लाजमर्दो रहेको उनको बुझाइ छ ।

–केटिएम दैनिकबाट

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार ०७:५४