बाँके । भारतका विभिन्न सहरबाट फर्केर ग्रामीण क्षेत्रमा बसिरहेका व्यक्तिहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि बाँकेमा जोखिम झनै बढेको छ । एकसाताअघि भारतको गुजरातबाट फर्किएका कोहलपुर नगरपालिकाका दुई जना युवामा शनिबार कोरोना सङ्क्रमण देखिएको छ । एकसातासम्म घरपरिवार र साथीभाइको सम्पर्कमा आएका उनीहरूमा पछि स्वास्थ्य समस्या देखिएपछि परीक्षणमा कोरोना देखिएको हो ।
जमुनाह नाकामा समेत स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि तत्काल स्वस्थ देखिएका व्यक्तिहरूमा पछि सङ्क्रमण देखिएपछि कोरोनाको जोखिम बढेको हो । जमुनाह नाकामा गरिएको परीक्षणमा दुई दर्जन बढी व्यक्तिमा सङ्क्रमण देखिइसकेको छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएका, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा पुगेका व्यक्तिहरूबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा नमुना सङ्कलन भएकोमा सङ्क्रमणदर उच्च देखिएको भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा.प्रकाशबहादुर थापाका अनुसार कोरोना विशेष आइसोलेसन वार्डको १०२ शैय्या, शङ्कास्पद बिरामी राख्ने ४० शैय्याको वार्ड गरी १४२ शैय्याको कोभिड वार्ड र १५ शैय्याको कोभिड आइसीयू वार्ड बिरामीले भरिएका छन् । जिल्लामा सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने डा.थापाले बताए । दुई साताको अवधिमा बाँकेमा मंगलबारसम्ममा ८६६ जना संक्रमित छन् । संक्रमितहरुमध्ये ६२ जना १९ वर्षमुनिका बालबालिका रहेको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५०० बढी कोरोना संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ । बाँकेमा जाँच गरेकोमध्ये ९२.७ प्रतिशतलाई कोरोना भएको छ । बाँकेमा तीन ठाउँबाट कोरोना परीक्षण हुने गर्दछ । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा कोरोनाको परीक्षण हुँदै आएको छ । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
पछिल्लो समयमा केही दिनयता बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । डीसीसीएमसी बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो । नेपालगन्जस्थित भेरी अस्पतालले सरकारबाट पर्याप्त मात्रामा रि–एजेन्ट लगायत अन्य आवश्यक सामग्री प्राप्त हुने र स्थानीय तहबाट नमुना सङ्कलन गरी अस्पतालमा पठाउने हो भने समुदायस्तरमा पनि परीक्षणको दायरा बढाउन सकिने जनाएको छ ।
दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेपछि डीसीसीएमसी बाँकेले जिल्लामा भोलीदेखि एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । बाँकेमा कोरोना कहरले भयावह रूप लिँदै गएपछि डीसीसीएमसी बाँकेले जिल्लामा कम्तीमा सात दिन लकडाउन गर्ने निर्णय गरेको हो । डीसीसीएमसी बाँकेको मङ्गलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
उनले एक दिनमा तीन सयभन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगन्ज लगायत जिल्लाका विभिन्न क्षेत्र अति नै धेरै जोखिममा परिसकेकाले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताए । डीसीसीएमसीले भोली वैशाख ९ गते बिहीबारदेखि एक सातासम्मका लागि अति आवश्यक सेवाबाहेक सबै क्षेत्र बन्द रहने गरी लकडाउन गरिने निर्णय गरेको हो । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि बेडसमेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
।