सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य मन्त्रालय भन्छ- अबका ६३ दिन ज्यादै कठिन

काठमाडौं । कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयले आगामी नौ हप्ता अर्थात् ६३ दिन निकै कठिन हुने बताएको छ । स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घन्टामा देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा एक हजार सात सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

‘विश्वभरको तथ्यांक र विगतमा नेपालमा देखिएका केसलाई अध्ययन गर्दा ९८ दिनसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छौँ,’ मंगलबार पत्रकारहरूसँगको छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने, ‘जटिल अवस्थाका ३५ दिन पार गरिसकेका छौँ ।

अब हाम्रा लागि नौ हप्ता अर्थात् ६३ दिन ज्यादै कठिन छ । जोखिम कति उठाउने भन्ने आमनागरिककै हातमा छ ।’अर्यालका अनुसार स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरे छोटो समयमा दोस्रो वेभबाट छुटकारा पाउन सकिनेछ । ‘तर, कोरोना केही होइन भन्ने भ्रम पालेर जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था सोचेभन्दा फरक भएर जान्छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने विगतमा देश र जनताले ठूलो क्षति व्यहोर्नुपरेकोले यसपटक सकभर लकडाउन नगर्ने बताए । ‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा हामी पुगेका छौँ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना होस्, सरकार कदापि लकडाउन गर्ने पक्षमा छैन ।’ तर, त्यस्तो अवस्था आउन दिने कि नदिने जिम्मा नागरिकमै भएको उनको भनाइ छ ।

मास्कको मात्रै प्रयोग गरेको खण्डमा पनि केस बढ्नबाट रोक्न सकिने स्वास्थ्यका अधिकारीहरूले बताएका छन् । ‘दोस्रो भेरियन्टले युवा र बालबालिकालाई बढी संक्रमित बनाएको छ ।

यसलाई परास्त गर्ने एक मात्रै विकल्प भनेको जनस्वास्थ्यका मापदण्डको पूर्णरूपमा पालना मात्रै हो,’ उनीहरूको भनाइ छ ।

नयाँ पत्रिका

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ०७:४६