सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक यातायातमा नयाँ नियम, मास्कबिना प्रवेश निषेध

काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलवार बसेको बैठकले मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो।

मंगलवार यातायात व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। संक्रमण बढ्दै गएपछि सोमबार मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गराउने निर्णय गरेको थियो।

अब सवारी साधन दैनिक रुपमा ‘स्यानिटाइज’ गरेर मात्रै सञ्चालन गर्नुपर्ने बताए। चालक र सहचालकले पनि मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने छ। यससँगै मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न दिन पाइने छैन।

लामो दुरीका सवारीबीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गर्नुपर्नेछ। लामो दुरीका यात्रुहरुको विवरण कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई उपलब्ध गराउनुपर्ने छ। यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिई मास्क उपलब्ध गराउन सक्नेछन्।

बैठकमा  यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने गाडीको भाडा बढाउन माग गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारीले सिट क्षमता भन्दा बढी यात्रु नचढाउन मात्रै भनेकाले भाडा बढाउने भन्ने कुरा नहुने बताएका थिए।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १७:२१