काठमाडौं । नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका २० जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकले दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला लगायत पार्टी विपरित कार्य गर्न लगाउने थप २० जनालाई चेतावनीयुक्त स्पष्टिकरण सोधिनेछ ।
प्रधानमन्त्री ओली निकट एक जना नेताका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको लगायतका आरोप उनीहरूविरुद्ध लगाइएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरूलाई वैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णयसमेत गरेको छ ।
उनीहरुबाहेक प्रकाश ज्वालासहित कणाली प्रदेशका पाँच जना नेताहरु र अन्य नेताहरु समेत गरी २० जना नेतालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरिएको ती केन्द्रीय सदस्यले बताए । उनका अनुसार ती नेताहरुबाट सो स्पष्टीकरण आएपछि बैशाख १० गते बस्ने बैठकबाट कार्बाही गरिनेछ ।
‘विधानको प्रावधानअनुसार सफाइ पेस गर्न दिइएको हो,’ उनले भने । गत पुसमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको एउटा बैठकले १५०१ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । सो १५०१ जनाको समितिलाई अब राष्ट्रिय प्रतिनिधि परिषद बनाउने निर्णय पनि सो बैठकले गरेको छ ।
।