सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रदेश सरकारमा सहभागी हुने निर्णय पार्टीले गरेको छैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने निर्णय नभएको बताएका छन् । उनले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने कुनै निर्णय नभएको बताएका छन् ।

जनता समाजवादी पार्टीका चार सांसद सोमबार प्रदेश सरकारमा सहभागी भएको समाचारप्रति आफू आश्चर्यचकित भएको उनले बताए । ‘म आश्चर्यचकित छु, पार्टीको निर्णयविरुद्ध उहाँहरु कसरी सरकारमा सहभागी हुनुभयो ।’

उनले दिउँसो ३ बजेसम्म अविश्वास प्रस्ताव दर्ता भएको र आफ्ना पार्टीका सांसदहरुले समेत हस्ताक्षर गरेको भनेर आफूलाई खबर आइरहेको पनि बताए । अध्यक्ष यादवले भने, ‘पार्टीको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय पनि त्यही हो ।’

तर अचानक आफ्ना पार्टीका चार सांसदलाई मन्त्री बनाइएको खबर सुन्दा आश्चर्यचकित भएको उनको भनाइ छ । आफूले यसबारे राम्ररी बुझ्न नपाएको भन्दै प्रदेशमा सम्पर्क भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १७:०२