सूचनाको शक्ति - The Power Of Information

        

भारतमा थपिए २ लाख ७५ हजार संक्रमित, १६ सयको मृत्यु

काठमाडौं । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा अहिलेसम्मकै बढी २ लाख ७५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार १२६ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट १ हजार ६२५ जनाले ज्यान गुमाएका छन्। यो पनि अहिलेसम्मकै सबैभन्दा बढी हो। यससँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १२ दिनमै संक्रमण दर दोब्बर बनेको छ। कोरोना संक्रमण दर १२ दिन अघि ८ प्रतिशत थियो भने आज १६ प्रतिशत पुगेको छ।

सबैभन्दा बढी संक्रमण दर छत्तिसगढमा ३० प्रतिशत रहेको छ। त्यस्तै, महाराष्ट्र र गोवामा २४ प्रतिशत तथा राजस्थानमा २३ प्रतिशत रहेको छ।

नेपालसँग जोडिएको उत्तर प्रदेशमा पनि दैनिक संक्रमित थपिने क्रममा अत्यधिक बढेको छ। उत्तर प्रदेशमा १२ दिन अघि ४ हजार १३६ संक्रमित थपिएका थिए भने अहिले दैनिक २७ हजार संक्रमित थपिँदै गएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ०८:४०