काठमाडौं । एमालेको एकल बहुमत रहेको कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत हुने र एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री हुने सिधासिधा राजनीति थियो । तर, राजनीति सरल रेखामा अगाडि बढ्दैन । एमालेकै सांसदहरुले ‘फ्लोर–क्रस’ गरेर शाहीको सरकार जोगाइदिए । मुख्यमन्त्री बन्न तयारी अवस्थामा रहेका कँडेल जिल्लिए ।
कर्णालीमा शुक्रबार भएको यो नाटकीय राजनीतिक घटनाक्रमको सन्देश भने सोचेभन्दा धेरै फराकिलो र उथलपुथल ल्याउनेसम्मको छ । देशका ७ प्रदेशमध्ये ४ वटा प्रदेशमा हाल एमालेको सरकार छ । केन्द्रमा पनि माओवादी समर्थनमा बनेको एमाले सरकार छ । तर, कर्णालीको शुक्रबारको घटनाक्रमले यी सबै सरकारमाथि चुनौती उत्पन्न हुने स्पष्ट संकेत गरेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष निकटकै नेताहरु ४ वटा प्रदेशमा मुख्यमन्त्री छन् । लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नम्बर १ मा । शुक्रबारको घटनाक्रमले स्वयम प्रधानमन्त्री ओलीको सरकारमाथि पनि संकट आउने संकेत देखिएको छ । सरकारलाई दिएको समर्थन जारी राखेको माओवादी केन्द्रले ओलीको विकल्पका लागि सघन छलफल गरिरहेको छ । त्यसैले परिस्थिति अनुकुल बने तुरुन्त माओवादीले समर्थन फिर्ता लिने बताइरहेको छ ।
त्यो परिस्थिति अनुकुल हुनका लागि एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गर्ने बचन दिनु हो । प्रदेशमा फ्लोर क्रस गरेको माधव समूहले केन्द्रमा नगर्ला भन्न सकिने अवस्था अब रहेन । पार्टीमा समानान्तर गतिविधी गरिरहेको माधव समूहले प्रदेशमा फ्लोर क्रस गरेर केन्द्रलाई पनि सन्देश दिइसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ४ जना सांसदको पद रिक्त भएको छ भने ४ जना नै निलम्बनमा छन् । एमालेको १२१ सिट छ । उसलाई बहुमतका लागि थप १५ सिटको आवश्यक पर्छ ।
त्यसका लागि ओलीले जनता समाजवादीको एक घटकसँग निरन्तर छलफल गरिरहेका छन् । र जसपाको महन्थ ठाकुर समूहले सरकारलाई समर्थन दिने जनाऊ दिइसकेको बताइन्छ । तर, माधव नेपाल समूहले फ्लोर क्रस गर्दा जसपाको एक समूहले समर्थन गर्दैमा ओली सरकारलाई बहुमत पुग्ने देखिँदैन । गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सिटमात्र छ ।
त्यसैले अहिले गुरुङ अल्मतको सरकार चलाइरहेका छन् । त्यसमाथि सबै विपक्षी एकजुट भएकाले उनको सरकार पनि धरमराएको छ । त्यसमाथि माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गर्ने सम्भावना देखिएपछि उनको सरकार पनि ढल्ने अनुमानलाई बल पुगेको छ । यस्तै लुम्बिनी प्रदेशमा विपक्षीहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरेर बसेका छन् । माधव समूहका एकजनाले पनि पोखरेलको विरोधमा जाने सम्भावना देखिए उनको सरकार पनि ढल्नेछ ।
उता बागमतीमा पनि माधव समूहले यसअघि नै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । तर, पछि फिर्ता लिएको थियो । उता एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध तत्कालिन नेकपा कायम रहँदा ल्याइएको अविश्वासको प्रस्ताव एमाले र माओवादी सक्रिय भएसँगै फिर्ता लिइएको छ । तर माधव नेपाल समूहले त्यहाँ पनि राईको सरकार ढाल्न सक्ने संकेत शुक्रबारको कर्णालीको घटनाक्रमले देखाएको छ ।
।