सूचनाको शक्ति - The Power Of Information

        

बझाङका ५५ विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

फाइल तस्वीर

बझाङ । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङ जिल्लाका ५५ सामुदायिक विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरेर मापदण्डहरु समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीमा बझाङ जिल्लाका १२ ओटा स्थानीय तहमा ५५ वटा विद्यालय छनौटमा परेका छन् ।

जयपृथ्वी नगरपालिकाका २ मावि, बुंगल नगरपालिकाका ५ मावि र ३ आधारभूत गरी ८ वटा, साइपाल गाउँपालिकाका २ मावि, केदारस्युँ गाउँपालिकाका २ मावि, खप्तडछान्ना गाउँपालिकाका २ मावि र ६ आधारभूत गरी ८ वटा, तलकोट गाउँपालिकाका ४ मावि, ६ आधारभूत गरी १० वटा र थलारा गाउँपालिकाका ५ मावि, २ प्राथमिक गरी ११ वटा विद्यालय छनौट भएका छन् ।

त्यसैगरी, दुर्गाथली गाउँपालिकाका २ आधारभूत, मष्टा गाउँपालिकाका १ मावि, ६ आधारभूत गरी ७ वटा, वित्थडचिर गाउँपालिकाका १ मावि, १ आधारभूत गरी २ वटा र सुर्मा गाउँपालिकाका १ आधारभूत गरी जम्मा ५५ विद्यालय छनोट भएका छन् । छनौट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ । छनौट भएका विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार १८:४०