सूचनाको शक्ति - The Power Of Information

        

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् । प्रदेश सभामा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

केही व्यक्तिको सत्ता स्वार्थका कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीले आरोप लगाइन् । उनले हिजो सार्वजनिक अपिल जारी गर्दै प्रदेश सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेकी छन् । आज कर्णाली प्रदेशको सातौं अधिवेशनको पहिलो बैठक बस्दैछ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । कर्णालीमा नेकपा एमालेबाट सभामुखसहित २०, माओवादी केन्द्रका १३, काँग्रेसका ६ र राप्रपाका १ सांसद छन् । माओवादी केन्द्रका एकजना सांसद धर्मराज रेग्मीलाई भने कारबाही (पदबाट हटाइएको) गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ०८:३१