जब कुनै मुलुक वा समाज धर्म तथा संस्कृतिको मामलामा पतन हुन्छ तब त्यो मुलुकको उत्थान असम्भव प्रायः रहन्छ । मानिस यथार्थमा सांस्कृतिक, आध्यात्मिक सामाजिक प्राणी हो । आफूलाई गुमाएर उत्थान हुन्छ भन्ने कुतर्कीहरू जत्तिको विभिण्डिएका अरू कोही हुँदैनन् । भारतमा करिब २०० वर्ष इसाई अंग्रेजले र ६०० वर्ष ईस्लाम शासकले अतिक्रमण गरेता पनि सनातन हिन्दू धर्मलाई विस्थापन गर्न सकेनन् । बर्षौसम्म सनातनीक धर्म संस्कृतिविरुद्व उनीहरुका गतिविधिले धेरै असर गरेन ।
त्यहाँ अझै पनि ८० प्रतिशतभन्दा बढि नागरिक हिन्दू नै छन् । विश्वभरि हिन्दू सनातनी संस्कृति तथा शिक्षाको प्रचार प्रसार पनि भारतबाट नै भइरहेको छ । नेपालमा त कहिल्यै अरू धर्मको खासै अतिक्रमण भएको थिएन । तर गणतन्त्रपछि भने नेपालमाथि लादिएको राजनीतिक व्यवस्थाको मूल लक्ष्य पश्चिमा डिजाइनमा नास्तिक मानिएका नेता र दलकै नेतृत्वमा हिन्दू सनातनीक समुदायलाई नै मास्न लागि परेको जनताले महसुस गर्दैछन् । यस्ता रवैया र षडयन्त्रमा नेताहरू फस्दै गएका र नेपालको चट्टानी जग सनातनीक संस्कृतिका बर्खिलाप जान खोजेको त होइन् भन्ने संशय देखिएको छ ।
यदि त्यस्तो भएमा नेपाललाई कहिल्यै समृद्ध र शान्तिमय बन्न पनि दिइने छैन् । षडयन्त्रकारीहरु आफूहरू यो जुनिमा पूर्ण असल सिद्ध हँुदै जीवनलाई धिक्कार्न पर्ने अवस्थामा पुग्दै गरेको देखिँदैछ । यस्ता विकृतिका कारण विदेशमा रहेका लाखौँ नेपालीहरु आफ्नो मुलुक र संस्कृति पहिचान बिहीन हुँदै जाने भएकोले अन्ततः जनजागरण आएर चट्टानी हिन्दू सनातनीक समाजको बर्खिलाप टाउको बजार्नेहरू आफै सोत्तर भने हुनेछन् । धर्म रक्षति रक्षतः भनेजस्तै स्वधर्म त्याग्नेहरु अनिवार्य मासिनेछन् ।
२०७५ को मंसिर दोस्रो साता नेपालमा भएको ‘होलीवाइन सम्मेलन’ सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफै बालुवाटार छाडेर तीन दिन तीन रात सोल्टी होटेलमा बास बसेका थिए । जिल्ला, गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरू र सांसदहरूलाई सम्मेलनमा उपस्थित भएर होलीवाइन आचमन गर्न उर्दी जारी गरेका थिए । सम्मेलन सम्पन्न गर्न राज्यको १६ करोड पैसा खर्च गरिएको थियो । होलिवाइन क्रिश्चियन संस्थाले प्रम ओलीलाई मानार्थ पीएचडी उपाधी पनि दिएको थियो । शान्तिका लागि काम गरेको भन्दै केही रकम पुरस्कार पनि दिइएको थियो । त्यो होलिवाइन सम्मेलनको एमाले नेता ओली र माधव नेपाल प्रमूख संयोजक थिए ।
एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको उक्त कार्यक्रम सिधा–सिधा मुलुकको सनातनीक धर्म संस्कृतिविरुद्वको कार्यक्रम थियो । नेपालका धर्म निरपेक्ष वा नास्तिक बामपन्थ भने नयाँ जड धर्म विकास हुँदै गएको छ । सधैं व्यक्तिगत उन्नतिको दृष्टि राख्ने सनातन हिन्दू संस्कतिको धुवाँधार खोइरो खन्ने र होलीवाइन धर्मलाई रेड कार्पेट ओछ्याएर होलीवाइन आचमन गर्नुलाई तिनले क्रान्तिकारी धर्म भनेर मान्ने र प्रचार गर्ने गरेका छन् । देशीभूमिमा विदेशी रक्सीको प्रचार गरेर राजनीति गर्ने, अब त्यस्तो कुधर्म नेपालीले मान्दैनन् । हिन्दूधर्म सहअस्तित्वलाई स्वीकार गर्ने सहिष्णु छ ।
यो अब्राहमिक धर्महरूजस्तो प्रतिकारात्मक, निषेधात्मक र युद्ध उन्मादी धर्म होइन । हिन्दू सनातनी पद्दति आध्यात्मिक जिवन र जिवनशैलीलाई सधैं सुव्यवस्थित कसरी राख्ने भन्ने चिन्तनबाट प्रेरित छ । आफ्नो कर्मबाट आफूलाई कसरी मुक्ति दिँदै आनन्दमय जिवन जिउने भन्ने कुरा सनातनीक हिन्दु संस्कृतिमा छ । यसले कसैलाई यो गर, त्यो गर भनेर जोर जबरजस्ती गर्दैन । हिन्दु धर्ममा न कुनै खास भगवान छ, न कुनै बाइबल कुरानजस्तो जड धर्मग्रन्थ छ । आफै मनन गर । आफैं साधना गर । त्यसको अन्तर्मनको आवाजले जे भन्छ त्यो गर । अरूको कुरा नपत्याउ । आफै अनुभव वा अनुभूति गरेर चित्त बुझेमात्र अपनाउ भन्ने कुरा हिन्दु धर्मको हो ।
सनातनीक धर्म संस्कृतिले अरू धर्मले जस्तो कसैको मुलुकमा अतिक्रमण गरेको छैन । यसले आजसम्म अरु समुदायको संस्कृतिमाथि आक्रमण गर्ने काम पनि गरेको छैन् । प्रतिकार नगर्ने, व्यक्ति र जिवन उन्नयनमा मात्र केन्द्रित हुने यस धर्मको नियम हो । दशौं हजार वर्षदेखि वैदिक परम्परा, ध्यान, ज्ञान, बोध, योग अध्यात्म यसका मुल विषय हुन् । विश्वभरि हिन्दु सनातनी प्रणालीको महिमा अहिले तिब्र गतिले बढ्दैछ । अर्को अर्थमा भन्दा हिन्दु सनातनीक ज्ञानको पुनर्जागरण पनि हुँदैछ । मुस्लिम मुलुक इण्डोनेशियाले केहि वर्षअघि मात्र बाली शहरमा हिन्दु विश्वविद्यालय स्थापना गरेको छ ।
नेपाल जेमा पनि तन्नम् हुँदै जानुको खास कारण आफ्नो हजारौं वर्षदेखि प्रमाणित र दिगो रहेको भाषा, धर्म, संस्कृत, संस्कृति, परम्परा, चाडपर्व अध्यात्मप्रति बैरभाव राख्ने राजनीतिको अचानो बन्दै गएर हो । अब त्यस्ता कुराजनीति चल्ने छैन र जनताले सहँदैनन् । त्यसकारण जनताले हैन् नेताहरूले सही मार्ग पछ्याउन । यसमा नै नेता, जनता र मुलुकको कल्याण हुनेछ । ध्रुबसत्य कुरा, नेपालको विद्यमान धार्मिक अध्यात्मिक फेब्रिक र जग तोडमोड गर्दै भत्काएर मुलुकको उन्नति कुनै हालतमा संभव हुनेछैन । बिरानो धर्मलाई यहाँको माटोले स्विकार्दैन । सत्तामा बस्नेले माटोको वास्तविकतालाई ध्यानमा राखुन् । (लेखक उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन् ।)
।