रामनिवास यादव बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रमा क्रियाशील यादव स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको हो । नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको भए पनि पिछडिएको स्थानीय तहका रूपमा रहेको जानकी गाउँपालिकाको समग्र विकास निर्माण लगायतका विषयमा गाउँपालिकाका अध्यक्ष रामनिवास यादवसँग गरिएको कुराकानी :
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आएपछि आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
विकास निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ । खजुराखुर्द चोकदेखि पिप्रहवा चोक जसलाई हामी औद्योगिक करिडोर जोड्ने सडक पनि भन्छौँ । १७ करोड रुपियाँको लागतमा यसको निर्माण अघि बढेको छ । यो बजेट गाउँपालिका आफँैले व्यवस्थापन गरेको छ । जानकी गाउँपालिकाका अधिकांश बस्ती बाक्लो रहेका कारण पीसीसी र आरसीसी सडक निर्माणलाई प्राथमिकता दिएका छौँ । वर्षायाममा गाउँभित्र प्रवेश गर्न नसक्ने अवस्थाको केही हदसम्म भए पनि अन्त्य गर्न सकेका छौँ ।
पुराना बस्तीभित्र नालीसहितको सडक निर्माण गरिरहेका छौँ । यसबाहेक शिक्षा, स्वास्थ्य लगायतका अन्य विकास निर्माणका कार्यलाई हेर्दा सन्तोषजनक रूपमा हामीले हाम्रो कार्यकाललाई लिएका छौँ । गाउँपालिकाको आफ्नै व्यवस्थित भवन निर्माण भइरहेको छ । जानकी गाउँपालिका भारतीय सीमासँग जोडिएका कारण सीमा क्षेत्रको विकास निर्माणमा विशेष प्राथमिकता दिएका छौँ । साईगाउँ तथा शिवपुरी जोड्ने मुख्य सडक कालोपत्रे गर्ने काम अघि बढाइएको छ ।
घोषणापत्र कार्यान्वयनका हिसाबले यो अवधिसम्म कति सफल हुनुभयो ?
हामी निर्वाचनमा गर्न सक्ने कुरा मात्रै लिएर जनतामाझ पुगेका थियौँ । हामीले बनाएको घोषणापत्र एकदमै सङ्क्षिप्त छ । अहिले चार वर्षको अवधिमा करिब घोषणपत्रमा उल्लेख गरिएको अधिकांश सबै प्रतिवद्धता पूरा गर्न सफल भएका छौँ । जनताले निर्वाचनमा गरेको विश्वासलाई एक इन्च पनि कमी हुन नदिन उहाँहरूसँग रातदिन सँगै छौँ । यो अभियानमा गाउँपालिकावासी सबैको साथ र सहयोग पनि पाइएको छ । हामी अहिले जनताको तत्कालीन र दीर्घकालीन आवश्यकता पूरा गर्न लागिपेका छौँ । घोषणापत्रको सम्पूर्ण कार्यान्वयन भइसकेको छ ।
नेपालगन्जसँग जोडिएको भए पनि यो गाउँपालिका शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधारका लागि के गर्दै हुनुहुन्छ ?
जानकी गाउँपालिकामा ६ वटा वडा छन् । सबै वडामा माध्यमिक विद्यालय छ तर उच्च शिक्षाका लागि अहिलेसम्म पनि कलेज वा उच्च मावि नभएकाले हामीले कृषि क्याम्पसका लागि निरन्तर पहल गर्दै आएका छौँ । कृषि अनुसन्धान केन्द्रको क्षेत्रीय कार्यालय हाम्रै स्थानीय तहमा भएका कारण पनि कृषि विषयको पठनपाठन हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
हामीले ठूलो प्रयास गरेर गाउँपालिकालाई साक्षर घोषणा गर्न सफल भएका छौँ । स्वास्थ्य क्षेत्रमा हामीले गाउँमा रहेका स्वास्थ्य चौकीलाई सेवा सुविधा र जनशक्तिले व्यवस्थित बनाउन लागिपरेका छौँ । भर्खरै १५ शैय्याको अस्पताल शिलान्यास भएको छ । यस हिसाबले शिक्षा र स्वास्थ्यमा केही समयमै सुधार हुने अपेक्षा गरेका छौँ ।
यहाँको कार्यकाल पूरा हुन एक वर्षभन्दा केही बढी छ । नयाँ योजना के बनाउनुभएको छ ?
नयाँ योजनाभन्दा पनि पुराना योजना कार्यान्वयन गर्दै अघि बढ्ने हो । सबै सडक कालोपत्रे बनाउने, पुराना बस्ती र नयाँ बस्तीमा पीसीसी र आरसीसी तथा कालोपत्रे गर्ने भन्ने छ । यसबाहेक जानकी गाउँपालिकाले औद्योगिक विकास र सिक्टा सिँचाइबाट ठूलो लाभ लिन सक्ने देखिन्छ । औद्योगिक विकासका लागि पिप्रहवा, गनापुर र आसपासका क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन गाउँपालिकाले पहल गर्दै छ ।
सडक सुधार गरेर अघि बढ्दै छौँ । सिक्टाले नहरमा पानी छोडेपछि कृषि उत्पादन वृद्धि भएको छ । कृषिको आधुनिकीकरण र व्यावसायिकताका लागि कृषिमा अनुदान र प्रविधिमासहयोग गर्ने खालका कार्यक्रम ल्याएका छौँ । सीमा क्षेत्रमा बाख्रापालनका लागि किसानलाई सहयोग गरेका छौँ । आगामी दिनमा सबैसँग समन्वय गरेर अघि बढ्छौँ ।
नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउनुपर्छ भन्ने आवाज उठिरहेको अवस्थामा नजिकको जानकी गाउँपालिकाले के सोच बनाएको छ ?
नेपालगन्ज र कोहलपुरलाई मिसाएर महानगरपालिका बनाउन लागेको चर्चा सुनिएको छ । जानकी गाउँपालिका नेपालगन्ज र कोहलपुरको बीच भागमा समेत पर्ने भएका कारण यसबारे हामीसँग पनि गहन छलफल हुनुपर्छ ।
यसबारे आपसी सरसल्लाह गरेर सहमतिमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । कुन आधारमा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका बनाउने हो, त्यसको स्पष्ट आधार हुनुपर्छ । केवल जनतालाई कर मात्रै बढाउने हो भने हाम्रो सहमति हुँदैन । यसबारे जनतासँग सल्लाह गरेर मात्रै निर्णयमा पुग्छौँ ।
सङ्घ र प्रदेश सरकारबाट प्राप्त सहयोगबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जानकी गाउँपालिका हामी आउनुभन्दा पहिले जिल्लामै पिछडिएको स्थानीय तह हो । त्यस हिसाबले माथिल्ला दुवै सरकारबाट हुनुपर्ने सहयोग नभए पनि सङ्घ र प्रदेश सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेको छ । केन्द्र सरकार र प्रदेश सरकारले गरेको सहयोगबाट हामी सन्तुष्ट छौँ ।
जानकी गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि के के गर्दैछ ?
गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च भएको अवस्थामा जानकी गाउँपालिका जिल्लामै राम्रो काम गर्न सफल भएको थियो । क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा जिल्लास्तरिय आइसोलेसन केन्द्र थियो । केही विद्यालयमा समेत केन्द्र राखिएको थियो । अहिले फेरि कोरोना तीव्र गतिमा बढ्न थालेपछि गत वर्षभन्दा अझ व्यवस्थित ढङ्गले आइसोलेसन केन्द्र र क्वारेन्टिन निर्माण गर्न लागेका छौँ । सीमाको गाउँपालिका भए पनि हामी कोरोना रोकथाम र नियन्त्रणमा हातेमालो गरेर अघि बढेका छौँ ।
यहाँ २०५४ सालमा निर्वाचित गाविस उपाध्यक्ष हुनुभएको थियो । पहिले र अहिले फरक भूमिका हुनुहुन्छ । विगत र अहिलेमा के फरक पाउनुभयो ?
२०५४ सालमा गाविसमा विकास बजेट एकदमै न्यून थियो । सानोतिनो कामका लागि पनि जिल्ला विकास समितिमा जानुपर्ने अवस्था थियो । अहिले स्थानीय तह भए पनि विकास बजेट मात्रै बढेको छैन, अधिकारसमेत व्यापक छ । तसर्थ विगतको स्थानीय निकाय र अहिलेका जनप्रतिनिधि र स्थानीय सरकारबीच धेरै भिन्नता छन् । विगतभन्दा अहिले कामको चाप पनि बढी छ ।
जानकी गाउँपालिकालाई मानव विकास सूचकाङ्कमा अगाडि ल्याउन के के योजना बनाउनुभएको छ ?
नेपालगन्जसँग जोडिएको भए पनि जानकी गाउँपालिका धेरै हिसाबले पछाडि छ । यहाँ मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास छ । हामीले ठूलो प्रयासबाट साक्षर गाउँपालिका बनाउन सकेका छौँ । गाउँपालिकाभर विभिन्न सचेतनामूलक अभियान चलाएका छौँ । यसको नतिजा केही वर्षमै देखिन्छ भन्ने लाग्छ ।
।