सूचनाको शक्ति - The Power Of Information

        

रसुवामा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

काठमाडौं ।  रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका गाउँपालिका-१ ग्राङ आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक २७ वर्षीय राजेन्द्र तामाङ र उनका भाइ २५ वर्षीय सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए ।

उनीहरुको जिल्ला अस्पताल धुन्चेमा उपचारका क्रममा बिहीबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर कालिका गाउँपालिका-१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनको सदरमुकाम धुन्चेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराती कालिका गाउँपालिका-१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिपर पासाङल्हामु सडकको स्याउबारीमा अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ०८:४६