सूचनाको शक्ति - The Power Of Information

        

धारामा फोहोर र धमिलो पानी आउँदा समस्या

फाइल तस्वीर

बाँके । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा खानेपानी संस्थानले वितरण गरिरहेको पानी गत केही दिनबाट कालो, फोहोर र धमिलो आउन थालेको छ । चर्को गर्मी बढिरहेको बेला संस्थानले वितरण गरिरहेको पानी अत्यन्तै फोहोर र माटो तथा बालुवा मिसिएको आउन थालेपछि खानेपानीको समस्या हुनुका साथै लुगा धुन र अन्य प्रयोजनका लागि पनि पानीको अभाव भएको अधिकांश स्थानीयको भनाइ छ ।

गत तीनदिनदेखि संस्थानको धारामा कालो र धमिलो पानी आइरहेकाले बाध्य भएर जारको पानी किनेर खाइरहेको र लुगा धुन तथा नुहाउन समस्या भइरहेको नेपालगन्ज ११ का स्थानीय समद सिद्दिकीले बताए । उनले यसअघि कालो र मैलो पानी आउने गरेको जनाउँदै तर यस पटक त तीन दिनदेखि लगातार त्यस्तै पानी आइरहेको बताए । अर्का स्थानीय रमेशचन्द्र कुमालले पनि पानी फोहोर आउन थालेको गुनासो गरे ।

उनले गर्मी बढिरहेका बेला कालो र धमिलो खानेपानी आउन थालेपछि पानीको हाहाकार भएको बताए । अर्का स्थानीय मुना श्रेष्ठले आफ्नो क्षेत्रमा त गत एक महिनादेखि पानी नै नआएको बताए । उनले गर्मी बढेको बेला झन् पानीको खपत र माग अत्याधिक रहे पनि पानी नै नआउँदा ठूलो समस्या भइरहेको बताए । नेपालगन्जस्थित वडा नम्बर २ को खानेपानी ट्याङ्कीबाट वितरण भइरहेको पाानीमा कालो, धमिलो र फोहोर आउने समस्या देखिएको हो ।

सोबारेमा खानेपानी संस्थानको नेपालगन्जस्थित कार्यालयमा जानकारी माग्दा सो कार्यालयका प्रमुख हरी श्रेष्ठले बोरिङमा राखिएको पाइप ठूलो भएर बढी पानी तानेका कारण सो समस्या आएको स्वीकार गर्दै पाइप परिवर्तन गरेर समस्या समाधान गरिरहेको बताए । उनले मर्मत सम्भारको काम चलिरहेकोले धमिलो पानी गएको बताउँदै सर्वसाधारणमा पर्न गएको असुबिधाका लागि क्षमा याचनासमेत गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ०८:४०