सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा बलात्कारका घटना बढदै,साउन यता मात्रै २३ वटा घटना दर्ता

बझाङ । बझाङ जिल्लामा यस आर्थिक बर्षको साउन महिना यता २३ वटा बलात्कार संग सम्बन्धित घटना भएका छन । गत बर्षको तुलनामा यो ९ महिनाको अवधिमा बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएका छन ।

गत आर्थिक बर्षमा बलात्कार तथा बलात्कारको प्रयासका १२ वटा घटना भएकोमा यस बर्ष नौ महिनाकै अवधिमा दोब्बर घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार जवरजस्ती करणीका ९ वटा, जवरजस्ती करणी उद्योगका १० वटा, मानव वेचविखन तथा जवरजस्ती करणीको १ वटा, जवरजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा, वैवाहीक वलात्कार एकवटा घटना भएका छन ।

अहिले सम्म बलात्कारको आरोप लागेका ८ जना पुर्पक्षको लागी कारागार चलान भईसकेका छन । घटनाका २ जना प्रतिवादी फरार रहेकोले खोजतलास जारी छ भने ३ जनालाई माथवर व्यक्तिको जिम्मा लाई जमानीमा छुटेका छन । घटनामा संलग्न बालक भएकाले दुई जनालाई बाल सुधार गृहमा पठाईएको छ भने अन्यको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मष्टा गाउँपालिका २ खिकाला कि १२ बर्षिया सम्झना कामीको बलात्कार पछि हत्या भयो । सोही ठाँउकै १६ बर्षिया राजेन्द्र बोहोराले बलत्कार पछि हत्या गरेको आरोपमा सम्झनाका आफन्तले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयको टोलीले असोज ८ गते राती घरबाटै बोहोरालाई पक्राऊ गरेको थियो । कर्तव्य ज्यान तथा जवरजवस्तीकरणी मुदा दर्ता गरेर असोज ३० गतेका दिन राजेन्द्र बोहोरालाइ बाल सुधारकेन्द्र डोटीमा पठाइएको छ ।

बुङगल नगरपालिकाका ८ का ४४ बर्षिया एक पुरुषले आफ्नै १३ वर्षिया छोरीलाई जवजस्तीकरणी गरेको भन्दै प्रहरीले पक्राऊ गर्यो । बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा उनलाई फागुन २७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

फागुन २२ गते राती सुतिरहेको अवस्थामा बालिकालाई जवरजस्तिकरणी गरेका आरोपितलाई जिल्लाको वित्थडचिर गाउँपालिकाको देउलेखबाट पक्राउ गरेको हो । आरोपित बुबा माथी जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता भई जिल्ला अदालतले दिएको चैत २४ गतेको आदेशमा पुपक्र्षका लागी जिल्ला कारागारमा चलान गरेको छ ।

जयपृथ्वी नगरपालिका–६ नौराका भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंहलाई आफ्रनै विध्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको छ ।

चैत १४ गते साँझ धारामा पानी लिन गएकी १४ बर्षिया बालिकालाई शिक्षक सिंहले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका आफन्तले चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीका आधारमा आरोपित शिक्षकलाई पक्राऊ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुंगल नगरपालिका ८ की २७ बर्षिया एक महिलाले आफ्नै ससुरा नाता पर्ने मान बहादुर ऐडिले जवरजवस्तीकरणी गरेको भन्दै २०७७ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी हालिन ।

पिडित महिलाको भनाई अनुसार ऐडिले विभिन्न प्रलोभन तथा धम्की दिदै यौनशोषण गर्दै आएका थिए । साउन २८ गतेका दिनपनि मदिरा सेवन गरेर आएका ऐडीले जवरजवस्तीकरणी गरेको भन्दैे जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन । उजुरी पश्चात भदौ १६ गतेका दिन मान बहादुर ऐडिलाइ पक्राउ गरी पुर्व पक्षको लागी जिल्ला कारागार पठाएको थियो ।

यी एक प्रतिनिधि घटना मात्रै हुन्छ । यो आर्थिक बर्षको नौ महिनामा गत बर्षको तुलनामा झण्डै दोब्बर घटना भएका छन । बलात्कार लगायतका जघन्य अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, हालसम्मको तथ्याङकलाई हेर्दा जिल्लामा भएका ८० प्रतिशत अपराधिक घटना नजिकैका आफन्तबाटै भएको देखिन्छ । केहि घटनाहरु विभिन्न प्रलोभन, डर, धम्कीले गाँउघरमै मिलाउने गरेका कारण पनि प्रहरी सम्म पुग्दैनन ।

पछिल्लो समयमा यस्ता अपराधिक घटनालाई दबाउनु हुदैन भन्ने जनस्तरमा एक प्रकारको चेतना भएका कारण घटनाहरु प्रहरी पुग्ने गरेका छन । केही घटनाहरु गाँउघरमै मिलाउने गरिए पनि बलात्कार जघन्य अपराध भएकाले प्रहरीले जानकारी पाएसम्म कानुनी दायरामा ल्याउने गरेको बताउनु भयो ।

पछिल्ला दिनहरुमा मानिसहरुमा आएको सचेतना र संचारको पहुँचले घटनाहरु बाहिर आउन थालेको समेत डियसपी खड्काले बताउनु भयो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार ०९:४५