सूचनाको शक्ति - The Power Of Information

        

भारतमा घरजम गरेर बसेका हत्या आरोपी १८ वर्षपछि पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ का जितबहादुर गोदारको हत्या भयो । ०६० कात्तिकमा दश जना मिलेर बन्चरोले हिर्काएर उनको हत्या गरेका थिए । हत्यामा संलग्नलाई ०६८ जेठमा बर्दिया जिल्ला अदालतले २० वर्ष कैद सजाय हुने फैसला सुनायो । घटनालगत्तै पक्राउ गरिएकाहरु जेल परे । तर, मुख्य अभियुक्त चाहिँ भारतमा घरजम गरेर बसिरहेका थिए ।

बढैयाताल गाउँपालिका–३ का मुख्य कसूरदार कृपाराम खटिकलाई १८ वर्षपछि जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको छ । खटिकलाई नेपाल–भारत सिमानाबाट पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले बताए । कृपाराम मुख्य अभियुक्त हुन् । अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतको आदेशले बर्दिया कारागारमा थुनामा पठाइएको छ ।

हत्यापछि शुरुको ९ वर्ष भारतको रुपैडिया र नानपारामा मजदुरी गरेर बसेका ५८ वर्षीय खटिक पछिल्लो समय मोहनपुरमा बस्न थालेका थिए । उनले मोहनपुरमा घर बनाएर परिवारसहित त्यहाँ बसिरहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘कृपाराम मोहनपुरमा भैंसी पालन गरेर स्थायीरुपमा बस्दै आएको अनुसन्धानबाट थाहा भएको छ,’ एसपी कार्कीले भने, ‘त्यहाँ उनले धान कुट्ने मिल पनि चलाएका थिए ।’

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १९:१४