सूचनाको शक्ति - The Power Of Information

        

समाज र अपराध

एउटै गाउँपालिकाका २०० जना लागुपदार्थ कारोबारी जेलमा

हेटौंडा । मकवानपुर जिल्ला धेरै नामले परिचित छ । बागमती प्रदेशको राजधानी र ठूलो क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रसँगै अरू धेरै राम्रा पक्षले चिनिने मकवानपुर लागुपदार्थ उत्पादन र ओसारपसार कारण पनि उतिकै चर्चामा आइरहन्छ । मकवानपुरमा प्रहरीले वर्षेनी सयौं बिगाहा गाँजा खेती फडानी गर्ने गर्दछ । भारतको सीमानाका रक्सौलबाट पनि ६१ दशमलव ८ किलोमिटर नजिक दुरीमै रहेको मकवानपुर सीमापार लागुऔषध कारोबारको केन्द्र बनिरहेको छ ।

मकवानपुर प्रहरीले दैनिक जसो लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मानिसहरू पक्राउ गरिरहेको छ । ‘विशेषगरी किशोर किशोरीहरू लागुऔषध दुर्व्यसनीमा फसिरहेका छन्,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले भने, ‘लागुऔषध ओसारपसारमा संलग्नहरू पनि युवा उमेरकै छन्, प्रायः पुरुषहरू नै हुन्छन् । तर, मुख्य गिरोह भने उम्किरहेको हुन्छ ।’

घर झगडा, हत्या, हिंसा तथा बलात्कारजस्ता जघन्य अपराधको पछाडिको मुख्य कारण लागुपदार्थ तथा मादक पदार्थ सेवन नै मानिन्छ । जिल्लामा हुने विभिन्न हिंसात्मक गतिविधिहरू हुनुको पछाडि लागुपदार्थ सेवनले नै उत्साहित बनाउने गरेको प्रहरीको निस्कर्ष छ । संघीय संसदमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने भन्दै विधेयक दर्ता भएको छ भने बागमती प्रदेशसभामा पनि संघमा जस्तै यो विधेयक दर्ता भएको छ । दुवै सदनमा उक्त विधेयकमाथि कुनै छलफल भने अघि बढेको छैन ।

नष्ट गर्ने अभियान हरेक वर्ष, तर हालत उस्तै

मकवानपुर प्रहरीले वर्षेनी ठूलो संख्यामा प्रहरी खटाएर जिल्लाका विभिन्न स्थानमा गाँजा तथा अफिम खेती नष्ट गर्ने गरेको छ । प्रत्येक वर्ष गाँजा, अफिम तथा घरेलु मादक पदार्थ नष्ट गर्न मकवानपुर प्रहरीले अभियान नै चलाउँछ । चालु आर्थिक वर्षको फागुनसम्म मात्रै प्रहरीले ५०१ बिगाहा ५१ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको छ । ६०१ जना प्रहरी खटाएर ४६० बिगाहा ४१ कट्ठामा लगाइएको गाँजा र ४१ बिगाहा १० कट्ठामा लगाइएको अफिम खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार गत आर्थिक वर्ष २०७६–०७७ मा पनि मकवानपुर प्रहरीले ६५२ बिगाहा ३० कट्ठामा लगाएको गाँजा र अफिम नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक हेर्दा राक्सिराङ गाउँपालिकामा अन्यत्रभन्दा धेरै लागुऔषध खेती नष्ट गरिएको छ । त्यहाँ प्रहरीले चालु आवको पहिलो ८ महिनामा ३०० बिगाहा २२ कट्ठा जग्गामा लगाइएको लागुऔषध खेती नष्ट गरेको हो ।

आयआर्जनको विकल्प नहुँदा गाँजा खेती

जिल्लाको अन्य स्थानीय तहका तुलनामा राक्सिराङ गाउँपालिका विकट छ । राक्सिराङलाई ‘मकवानपुरको कर्णाली’ नामले पनि चिनिन्छ । गाउँपालिकामा अधिकांश तामाङ र चेपाङ समुदाय छन् । त्यस क्षेत्रका अधिकांश नागरिक शिक्षा र रोजगारीबाट टाढा र गरिबीको चपेटामा छन् । त्यसैले, त्यहाँका बासिन्दा केही पैसा कमाउने मनसायले गाँजा र अफिम उत्पादनमा लाग्ने गरेका छन् । वर्षैपिच्छे राक्सिराङका बासिन्दाले गाँजा उत्पादन गरेपनि उनीहरूको जीवनस्तर भने उकासिन सकेको छैन । उनीहरूले लगाएको गाँजा प्रहरीले हरेक वर्ष फडानी गरिदिन्छ ।

प्रहरीको नजरबाट लुकाएर उत्पादन गरिएको गाँजाको पनि उनीहरूले उचित मूल्य पाउँदैनन् । यसमा लागेका स्थानीयले गाँजाको विकल्पमा अरू खेती नगर्दा प्रत्येक वर्ष एउटै घटना दोहोरिरहन्छ, गाँजा लगाउने र नष्ट गर्ने! सरोकारवाला निकायले पनि गाँजा तथा अफिम खेती नष्ट गरी सट्टामा अरू विकल्प दिन सकिरहेको छैन । सरकारले नै रोजगारीका विकल्प नदिएकाले आफूहरू गाँजा खेतीमा लाग्नुपरेको स्थानीयबासी बताउँछन् । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाँजा र अफिमजस्ता लागुपदार्थ उत्पादन र ओसारपसारबाट आफ्नो गाउँपालिकाका धेरै बासिन्दा प्रभावित बनेको बताए ।

उनले गाउँपालिकाका नागरिकलाई गाँजाको विकल्पमा अन्य खेतीपाती गर्न आवश्यक सीप सिकाउन नसकेको पनि स्वीकारे । ‘बजेट अभावले गर्दा हामीले उहाँहरूलाई जस्तो खालको विकल्प दिनुपर्थ्यो–त्यो दिन सकेका छैनौं,’ मल्लले भने, ‘यद्यपी विभिन्न किसिमका रोजगारी निम्ति तालिम भने हामीले प्रदान गरिरहेका छौं ।’ मल्लले लागुपदार्थ ओसारपसारमा पनि आफ्नौ गाउँपालिकाका नागरिकको संलग्नता धेरै हुने गरेको र यो निकै दुःखद पक्ष रहेको बताए ।

यो वर्षमै लागुपदार्थ ओसारपसार गरेका ६९ जना पक्राउ

चालु आर्थिक वर्षको फागुनसम्म निषेधित लागुपदार्थ ओसारपसार गरेका ६९ जना पक्राउ परिसकेका छन् । मकवानपुर प्रहरीले दिएको तथ्यांकअनुसार चालु आवको ८ महिनामा लागुपदार्थ ओसारपसार गर्ने ६३ पुरुष र ६ जना महिला प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेकाहरूबाट ६११ किलो गाँजा, २२ किलो चरेस, १३ किलो अफिम र खैरो हेरोइन फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

सो तथ्यांक हेर्दा लागुऔषध ओसारपसारमा बालबालिकाहरूको संलग्नता बढिरहेको छ । ‘सानै उमेरमा लागुऔषध ओसारपसारमा लाग्नेहरूको संख्या पनि बढिरहेको छ,’ डिएसपी रिमालले भने, ‘सानोतिनो प्रलोभनमा परेर बालबालिकाहरू कुलतमा फसेका छन् । परिवारले अत्यावश्यक माग र केही इच्छा पूरा नगरिदिँदा पनि उनीहरू कुलतमा फस्ने गरेका छन् । हामीले पक्राउ गरेपछि उनीहरूलाई बाल सुधार गृहमा लगेर राख्ने गरेका छौं ।’

फेला नै पर्दैनन् नाइके

लागुपदार्थसहित प्रहरीले पक्राउ गरेका अधिकांश भरियामात्रै हुन्छन् । स–साना लोभ लालचमा फसाउँदै निश्चित स्थानसम्म लागुपदार्थ पु¥याइदिन उनीहरूको दुरुपयोग हुने गरेको डिएसपी रिमालले बताए । लागुपदार्थ बेच्ने र खरिद गर्ने मुख्य व्यक्ति अहिलेसम्म पक्राउ नपरेको भन्दै बीचमा प्रयोग हुने भरिया मात्रै प्रहरी फन्दामा पर्ने गरेको बताए ।

‘विशेषगरी गरिबी र बेरोजगारीको समस्यामा परेकाहरूलाई यस्तो पदार्थ खरिदबिक्री गर्नेले प्रयोग गरिरहेका हुन्छन्,’ उनले भने, ‘केही पैसा दिने लालच दिएर उनीहरूमार्फत निश्चित स्थानसम्म लागुपदार्थ पु¥याउन लगाइन्छ, तर बीचमै उनीहरू पक्राउ पर्छन् ।’ कतिपय अवस्थामा उनीहरूलाई आफूले बोकेको सामान, सो दिने र बुझ्ने व्यक्तिबारे पनि थाहा नहुने गरेको रिमालको भनाई छ । यसकारण पनि लागुपदार्थ खरिदबिक्री गर्ने सधैँ उम्किरहन्छन् भने बीचका भरिया फस्ने गरेका छन् । केहीले भने खरिदबिक्री गर्ने व्यक्तिलाई चिनेपनि आफैँ पक्राउ पर्दासम्म पनि प्रहरीलाई नबताउने नगरेको उनले बताए ।

३४१ जना कारागारमा

लागुपदार्थ ओसारपसार तथा प्रयोग गरेको आरोप लागेका ३४१ जना जिल्ला अदालतद्वारा दोषी ठहरी हाल मकवानपुरस्थित भीमफेदी कारागारमा सजाय काटिरहेका छन् । कारागार प्रमुख मदन लामाका अनुसार कारागारमा लागुपदार्थ प्रयोगमा संलग्न ४७, ओसारपसारमा संलग्न १२४ र दुवै कार्य गरेका १७० जना गरी कुल ३४१ जना छन् । धेरैले तोकिएअनुसार १७ वर्षसम्मको कैद सजाय भुक्तान गरिरहेका छन् । भीमफेदी कारागारमा सजाय भुक्तान गरिरहेकामध्ये २०० जना राक्सिराङ गाउँपालिकाका मात्रै रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

१० हजार लागुपदार्थ दुर्व्यसन

मकवानपुरको विभिन्न स्थानका करिब १० हजारजना लागुपदार्थ दुर्व्यसनमा फसेको जिल्ला लागुऔषध समन्वय समितिको आंकडा छ । समितिले २०७५ सालमा गरेको सर्वेक्षणअनुसार जिल्लामा ८ देखि १० हजार संख्यामा लागुपदार्थ सेवनकर्ता रहेका छन् । समितिका स्रोतव्यक्ति सौजन डिसी अहिलेको अवस्थामा यो संख्या अझ धेरै नै बढेको अनुमान गर्छन् । उनले पछिल्लो समय स्कुल पढ्ने बेलादेखि नै बालबालिकाहरू दुर्व्यसनीमा फस्ने क्रम बढेको पनि बताए ।

४५० जनालाई एचआइभी संक्रमण

जिल्ला लागुऔषध समन्वय समितिका संयोजक डिसीका अनुसार करिब ४५० लागुपदार्थ प्रयोगकर्ताहरूमा एचआइभी एड्स संक्रमण देखिएको छ । सुई तथा सिरिञ्जबाट लागुपदार्थ प्रयोग गर्ने करिब ४५० जनामा एचआइभी एड्स देखिएको हो । सुई साटासाट गर्दा एचआइभी संक्रमण भएको डिसीको भनाई छ । सिआन पुनःस्थापना केन्द्र समेत सञ्चालन गरिरहेका डिसीले केन्द्रका तीन जनालाई पनि एचआइभी संक्रमण भएको बताए । उनीहरूमध्ये केहीको अवस्था जटिल रहेको उनले जानकारी दिएका छन् ।

३०० जना सुधार गृहमा

मकवानपुरमा लागुपदार्थ दुर्व्यसनीबाट निस्किन ३०० जनाले सुधारगृहमा उपचार गराइरहेका छन् । हाल मकवानपुरमा ६ वटा सुधारगृह सञ्चालनमा छन् । सञ्चालनमा रहनेमा मकवानपुर रिकभरिङ् समूह, पिरु फाउण्डेसन, विस्डम गृह, ब्रिज अफ होप, सिआन पुनःस्थापना केन्द्र र दीपकला प्रतिष्ठान रहेका छन् । मकवानपुरमा सञ्चालित सुधार गृहहरूमा ३०० जना उपचाररत छन् । यी सुधार गृहले मासिक रूपमा निश्चित रकम लिएर उपचार गराउँदै आइरहेको छ । पहिला लागुपदार्थ दुर्व्यसनीमा फसेकाहरूले नै अहिले अरूलाई दुर्व्यसनीबाट निकाल्न सुधारगृह सञ्चालन गरिरहेका छन् ।

वैधानिकता दिँदा झन् दुर्व्यसनी फैलने डर

जिल्लामा सञ्चालित सुधार गृहका सञ्चालकहरू गाँजालाई वैधानिकता दिइने विषयको विपक्षमा रहेको बताउँछन् । वैधानिकता नदिँदा मात्रै पनि ठूलो संख्यामा दुर्व्यसनीमा फसेको भन्दै वैधानिकतापश्चात् अवस्था झनै भयावह हुने उनीहरूको भनाई छ । मकवानपुरको पहिलो सुधारगृह मकवानपुर रिकभरिङ ग्रुपका सञ्चालक सन्दिप शाक्यले गाँजालाई वैधानिकता दिन नहुने बताए । उनले वैधानिकता दिए लागुपदार्थ दुर्व्यसनीमा फस्नेको संख्या वृद्धि हुनेतर्फ चिन्ता व्यक्त गरे ।

‘अहिले नै अत्यधिक संख्यामा यसको प्रयोगकर्ता बढिरहेको अवस्थामा वैधानिकता दिइयो भने झन् उनीहरूलाई बाटो खुला हुन्छ । त्यसैले वैधानिकता दिनैहुँदैन,’ उनले भने । पिरू फाउण्डेशनका विजय हाडाले पनि दुर्व्यसनीको यात्रा नै गाँजाबाट शुरू हुने भएकाले यसलाई वैधानिकता दिन नहुने बताए । उनले आफू पनि विगतमा गाँजाकै कारण दुर्व्यसनीमा फसेको हुनाले गाँजा वैधानिकताको विपक्षमा रहेको बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार १६:१५