सूचनाको शक्ति - The Power Of Information

        

फेरि विश्वकै नम्बर एक प्रदूषित शहर बन्यो काठमाडौँ

काठमाडौं । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबारदेखि काठमाडौँ विश्वकै अतिप्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा परेको हो । पछिल्लो केही दिनयता हावा नलागेको, पानी नपरेको र डढेलो नियन्त्रणमा नआएकाले काठमाडौँ उपत्यकाको हावामा धुवाँ र धुलोका कण थुप्रिएर प्रदुषित बनेको हो ।

हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौँको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् । प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

काठमाडौँमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौँको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ०८:३२