सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि

विकास निर्माणमा महिला बढी सक्रिय

फाइल तस्वीर

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरका महिलाले विकास निर्माणका काममा पुरुषभन्दा बढी श्रमदान गर्ने गरेका छन् । पछिल्लो समयमा आएर अधिकांश स्थानमा सामूहिक श्रमदान गर्ने परम्परा हटिसके पनि राप्तीसोनारी गाउँपालिका फत्तेपुरका महिलाले उक्त चलनलाई हालसम्म निरन्तरता दिएका छन् ।

महिलाहरूले स्थानीय विकास निर्माणका कामका लागि सामूहिक श्रमदान गर्दै आएका छन् । गाउँका सडक, कुलो, नहर मर्मतलगायतका विकासका कार्यमा फत्तेपुरका अधिकांश महिला सहभागी हुने गरेका छन् । श्रमदान गर्न नआउनेलाई अर्को दिन काममा लगाउने र त्यो पनि नगरे जरिवाना तिराउने नियम बनाएका छन् ।

हाल फत्तेपुर ८ महेमानपुर, हब्रहवा र जुरैयाका करिब २०० घर परिवार नहर मर्मतको काममा लागेका छन् । उनीहरूले ठाउँठाउँमा भत्केको बाँध वर्षाअघि मर्मत गर्न लागेका हुन् । ‘भत्किएका बाँध मर्मत गर्न सरकारी कार्यालयको मात्र मुख ताक्ने हो भने काम नहुन सक्छ । पानी नभई हामीलाई खेती गर्न मिल्दैन,’ श्रमदानका लागि टोकरीमा माटो बोक्दै गरेकी स्थानीय दीपा चौधरीले भनिन् ।

उनले श्रमदान गरे आफ्नै गाउँलाई फाइदा हुने भएकाले आफँैले गर्नसक्ने कामका लागि अरूको मुख ताक्ने र अरूको भरोसामा बस्न नहुने बताइन् । श्रमदान गराउन चौकीदारले एक दिनअघि नै गाउँगाउँमा पुगेर खबर पुर्याउने गर्छन् । स्थानीय निकाय सञ्चालन निर्देशिकामा गाउँका विकास निर्माणका काममा ४० प्रतिशत श्रमदान गर्नुपर्ने उल्लेख छ तर अधिकांश गाविसका विकास कार्यमा स्थानीयको श्रमदान हुने गरेको छैन ।

फत्तेपुरवासीले भने उक्त परम्परालाई जिउँदो राख्न सफल भएका छन् । ‘म बुझ्ने भएदेखि गाउँमा श्रमदान गर्ने परम्परा निरन्तर चल्दै आएको छ । यसले गाउँको विकासमा सहयोग पुग्दै आएको छ,’ स्थानीय नरेश थापाले भने, ‘सडक, कुलो, नहर मर्मत गाउँलेहरू मिलेर आफैँ गर्दै आएका छौँ ।’ गाउलेहरूले श्रमदान गरेपछि गाउँपालिकालाई पनि सजिलो भएको छ ।

अन्य पालिकामा स्थानीयले गर्न सक्ने कामका लागि बजेट ताक्ने प्रवृत्ति बढ्दो छ तर फत्तेपुरका स्थानीयले भने खाल्डाखुल्दी पुर्नलाई कसैको मुख ताक्नुभन्दा पनि आफैँले गर्दै आएका छन् । सामूहिक फाइदा पुग्ने काममा सबैले श्रमदान गर्न आवश्यक रहेको अर्का स्थानीय सीतारानी चौधरीको भनाइ छ । उनले बिग्रिएको बाटोमा हिँड्नुभन्दा गाउँका सबै महिलाले नै मिलेर बाटो बनाइदिने गरेको बताइन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलवार ०७:३६