सुर्खेत । माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा सदस्य बनेका दैलेखका सांसद धर्मराज रेग्मी पदमुक्त भएका छन् । माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनको सदस्य पद धरापमा परेको हो । उनी दैलेख निर्वाचन क्षेत्र नं. १ क बाट निर्वाचित सांसद हुन् । रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो ।
यस्तै प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् । उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरिसकेको छ । आज कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएका छन् ।
पत्रमा भनिएको छ, ‘सांसदले दल त्याग गरेको सूचना प्रदेशसभा चालू रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने र प्रदेशसभा अधिवेशन स्थगित भएको अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि ती सांसदको पद रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।’ अबदेखि कर्णाली प्रदेशसभामा सदस्यहरुको संख्या ३९ हुनेछ । १३ जना माओवादी केन्द्रका सांसद भएकोमा अब १२ जनामात्र रहेका छन् ।
।